काठमाडौँ । वैशाख ३० मा हुन लागेको स्थानीय चुनावमा मङ्गलबार पाँच दलीय गठबन्धनका तर्फबाट बागलुङ नगरपालिमा घोषणपत्र सार्वजनिक गरेको छ । नगरपालिकाको विकास र समृद्धिका लागि सात अठोटसहितको घोषणापत्र सार्वजनिक गरियो । नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाकोे नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ र नेकपा माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
नेकपा एमाले र राष्ट्रिय प्रनातन्त्र पार्टीले संयुक्तले आइतबार घोषणपत्र सार्वजनिक गरेको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार जनकराज पौडेल र राप्रपाबाट नगरउपप्रमखका उम्मेदवार सञ्जय खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । दुवैको घोषणापत्रमा जनताको आधारभूत आवश्यकतासँगै महत्वकांक्षी योजना बढी छन् । मजदुर, दलित, अपाङ्गता, ज्येष्ठ नागरिक, खानेपानी, बजार क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक खानेपानीको धारो बनाउने कुरा दुवैको घोषणापत्रमा कम प्राथमिकता दिएको पाइन्छ ।
जनताले शिक्षा, स्वास्थ्य, खानेपानी तथा नगरपालिकाको सेवा सहजरुपमा नपाएको अझै गुनासो गरिरहेकै छन् । नगरपालिकाले आगामी पाँच वर्षमा पूरा गर्न र लागतको हिसाबले धेरै खर्चिला योजनासमेत घोषणापत्रमा उल्लेख गरेका छन् । नगरपालिकाको आफ्नै भवन छैन, जग्गा व्यवस्थापनको कुरा समेटिएको पाइदैन । अहिले कृषि कार्यालयबाट सञ्चालित नगरपालिकाले आफ्नो भवन कहिले पाउने घोषणापत्रमा उल्लेख छैन ।
स्थानीय निर्वाचनमा आफुहरुले जित्ने आसम एमाले राप्रपाको घोषणापत्रमा काठेखोला थुनेर बहुउदेश्यीय जलविहार परियोजना, प्रत्येक वडामा ३ ,३ वटा खेलमैदान, म्याग्दी, पर्वत र बागलुङको सङ्गमस्थलमा मितेरी पुल, शहरी विकासको योजना, विद्युतीय र टेलिफोनका तारलाई भूमिगत गर्ने, औद्योगिक ग्राम सञ्चालन गर्ने, घरदैलोमै स्वास्थ्य सेवा दिनेजस्ता महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । वार्षिक र १ अर्ब बजेट सार्वजनिक गर्ने नगरपालिकाले करोडौँका योजना सम्पन्न गर्ने, जग्गा अभावमा थलिएको औद्योगिक ग्राम बनाउछु भन्ने योजना महत्वकांक्षी योजना हुन् ।
घोषणापत्रमा संयुक्त पाँच दलीग गठबन्धले सार्वजनिक गरेको बागलुङ नगरपालिकाको उस्तै महत्वकांक्षी योजना रहेका छन् । आयातमा धानिएको बागलुङ नगरपालिकामा कृषिमा आत्मनिर्भर गराउने भन्ने गठबन्धनको घोषणापत्र झनै महत्वकांक्षी पाइन्छ । कालिका मन्दिरको भीरमा फूलले सजाउने, श्रम बैंक स्थापना गरी बेरोजगार युवालाई रोजगार दिइने, धौलागिरि अस्पताललाई शिक्षण अस्पताल बनाइने, अधुरो रहेको हरी खड्का ट्रमा सेन्टर सञ्चालन गर्ने, नेपालभित्र तीर्थयात्रा गर्न विशेष सहयोग उपलब्ध गराइने, वैतनिक स्वयंसेवकमा आबद्ध गराइने, विद्युतीय तारलाई भूमिगत गर्ने, कुकुरगाडे कुस्मा लामो झोलुङ्गे पुल निर्माण गर्ने, बलेवा विमानस्थल सञ्चालन गर्ने, पुरानो बजारलाई संरक्षण गर्ने, नदी किनारमा वाटरपार्क, कालिगण्डकी नदी दोहन रोक्नेलगायत योजना छन् ।
निर्वाचनको घोषणापत्रमा नगरपालिकाले आगामी पाँच वर्षमा पुरानो बजारलाई संरक्षण, नयाँ बजारलाई हरियाली, रिङरोड कालोपत्रे गर्ने र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने जस्ता एजेण्डा समावेश गरिएको नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ बताएका छन् ।
Add Comment