गाजामा इजरायली आक्रमण जारी

इजरायल र हमासबीच भएको युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन । पछिल्लो दुई दिनमा भएका आक्रमणमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

अल अक्सा अस्पतालका अनुसार बुधबार मध्य गाजामा एकै परिवारका तीन जनाको हवाई आक्रमणमा मृत्यु भएको छ । त्यसअघि मङ्गलबार उत्तरी गाजाको घना बस्ती रहेको जबलिया शरणार्थी शिविरस्थित प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा छ जना प्रहरी अधिकारी र एक महिलासहित धेरैको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । दक्षिणी सहर खान युनुसको टेन्ट शिविरमा भएको अर्को बम विस्फोटमा एक जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ । यस्तै, रफाहबाहिरको मुवासी क्षेत्रमा इजरायली सैनिकको गोली लागेर एक बालकको मृत्यु भएको अस्पताल अधिकारीहरूले बताएका छन् ।

इजरायली सेनाले मध्य र दक्षिणी गाजामा भएका पछिल्ला आक्रमणबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । जबलियाको घटनाबारे भने सेनाले मारिएका प्रहरीमध्ये चार जना हमासका लडाकू रहेको दाबी गरेको छ । तर उनीहरू सैन्य गतिविधिमा संलग्न रहेको कुनै प्रमाण सार्वजनिक गरेको छैन ।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार मारिनेमध्ये कर्नेल मोहम्मद मारवान सलेम जबलिया प्रहरी चौकीका प्रमुख तथा वरिष्ठ प्रहरी कमान्डर हुनुहुन्थ्यो । हमासले गाजामा नागरिक प्रहरी र सुरक्षा निकाय सञ्चालन गर्दै आएको छ भने युद्ध अवधिभर इजरायलले सहायता सामग्रीको सुरक्षा गर्ने प्रहरीसहित स्थानीय सुरक्षाकर्मीलाई पटकपटक निशाना बनाएको छ ।

इजरायली सेनाले सैन्य प्रयोजनका लागि प्रयोग भएका वा सशस्त्र गतिविधिमा संलग्न व्यक्तिहरू रहेको प्रहरी चौकीलाई वैध सैन्य लक्ष्य मान्ने नीति दोहो¥याएको छ । तर जबलियास्थित प्रहरी चौकीमा त्यस्तो गतिविधि भएको प्रमाण उसले सार्वजनिक गरेको छैन । हमासले भने उक्त प्रहरी बलले केवल कानूनव्यवस्था कायम गर्ने जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले पनि गाजामा प्रहरीमाथि भइरहेका इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । कार्यालयका अनुसार सन् २०२६ मा मात्रै प्रहरी कर्मचारीमाथि कम्तीमा एक दर्जन आक्रमण भएका छन् । ती आक्रमणमा ट्राफिक व्यवस्थापन र बजार क्षेत्रमा गस्ती गरिरहेका सुरक्षाकर्मीसमेत परेका छन् । प्रहरी र सशस्त्र समूहका सदस्यबीच इजरायली सेनाले पर्याप्त भिन्नता नगरेको देखिएको भन्दै कार्यालयले यसअघि नै चिन्ता व्यक्त गरेको थियो ।

इजरायलको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिजका अनुसन्धानकर्ता ओफेर गुटेरम्यानले हमासको केही प्रहरी संरचना र सैन्य संयन्त्र एकअर्कासँग जोडिएको इजरायलको बुझाइ रहेको बताउनुभयो । उहाँका अनुसार केही सुरक्षा संरचना हतियार भण्डारण, रसद र सैन्य सञ्चालनमा समेत प्रयोग भएको इजरायलको दाबी छ ।

गत अक्टोबरमा भएको युद्धविरामले दुई वर्षदेखि जारी युद्ध रोक्ने प्रयास गरे पनि छिटपुट हिंसा जारी छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता मात्रै कम्तीमा एक हजार १२३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले अधिकांश मृतक महिला र बालबालिका रहेको जनाएको छ ।

इजरायलले युद्धविरामपछि पनि हमासका लडाकूबाट आफ्ना सैनिकमाथि आक्रमण भइरहेकाले त्यसको जवाफस्वरूप कारबाही जारी राखिएको जनाएको छ । युद्धविरामपछि हालसम्म पाँच इजरायली सैनिक मारिएका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा दक्षिणी इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु हुनुका साथै २५१ जनालाई बन्धक बनाएपछि युद्ध सुरु भएको थियो । त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा युद्धविरामपछिका मृतकसमेत गरी ७३ हजार २६४ भन्दा बढी प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।