काठमडौँ । खोटाङमा स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । कांग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जानकारी गराएको छ ।
कारवाहीमा पर्नेमा ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका ४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्वगाविस अध्यक्ष राजेन्द्र राई र खोटेहाङ गाउँपालिका ८ सिम्पानीमा वडाध्यक्षको बागी उम्मेदवार बनेका निवर्तमान वडाध्यक्ष चन्द्रबहादुर थापा रहेका छन् ।
तामाङले ऐसेलुखर्क गाउँपालिकामा चार दलीय गठबन्धनका तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईविरुद्ध तथा राईले कांग्रेसका तर्फबाट बतासेका आधिकारिक उम्मेदवार राजदेश राई र थापाले कांग्रेसका तर्फबाट सिम्पानीमा वडाध्यक्षका आधिकारिक उम्मेदवार सुशील उदासविरुद्ध बागी उम्मेदवारी दर्ता गरेकाले कारबाही गरिएको जिल्ला सभापति विष्णुकुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
पार्टीको कारवाहीमा परेका कांग्रेसका तीनै जनाले आ–आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनीहरुको चुनाव चिह्न मुढा रहेको छ । त्यस्तै ऐसेलुखर्क गाउँपालिकाको उपाध्यक्षमा चार दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजेशकुमार राजभण्डारी रहेका छन् । त्यहाँ कांग्रेसको गाउँपालिका पार्टी सभापति नै बागी उम्मेदवार बनेपछि गठबन्धनलाई घाटा हुने देखिएको स्थानीयवासीको भनाइ रहेको छ ।
चुनावी मैदानमा रहेका राजनीतिक दलका नेताहरू अहिले आ–आफ्नो पक्षमा जनमत जुटाउन चुनावीसभा तथा जनताको घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बागीसहित एक हजार २८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा वैशाख ३० गते हुने निर्वाचनबाट ४१५ जनप्रतिनिधि चुनिने छन् ।
Add Comment