काठमाडौँ । दाङमा २६ महिनामा बन्नुपर्ने पुल ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण निर्माण पूरा हुन नसकेको हो ।
ग्रामीण सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुर खोला पुल २०७५ साल वैशाख १८ सम्ममा पूरा गर्ने गरी २०७३ पुसको १९ गते सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालीसँग करिब रु १३ करोडको लागतमा काम गर्ने गरी सम्झौता भएको थियो ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण ४ वर्षअघि निर्माण सक्नुपर्ने पुल अझैसम्म सकिएको छैन । पुल निर्माणका लागि तीन पटक म्याद थप भइसक्दासमेत पूरा हुन नसकेपछि सडक डिभिजन कार्यालयले चौथो पटक गत असारमा पुनःम्याद थप गरेको कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर अमिर सुवेदीले जानकारी दिए ।
समयमा काम गरेको भए करिब २६ महिनामै सकिनुपर्नेमा निर्माण व्यवसायीको लापरबाहीका कारण सम्झौता भएको ६ वर्षभन्दा बढी समय भइसक्दासमेत निर्माणको काम नसकिएको उनको गुनासो थियो ।
सूचना अधिकारी सुवेदीका अनुसार पुलको सुपरस्ट्रक्चर निर्माणको काम सकिएको छ तर सवस्ट्रक्चर निर्माणको काम हुन सकेको छैन । पुलको अहिलेसम्म पिलर निर्माणको काम सकिएको छ । अब माथिको भाग बनाउन बाँकी छ ।
विसं२०८० साल असार मसान्तभित्र काम सक्न निर्माण व्यवसायीलाई पुनः एक वर्षका लागि म्याद थप गरिएको उनले बताए । सुरुमा पुल निर्माणका क्रममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना सङ्क्रमणको बहाना बनाउँदै पटकपटक काममा ढिलाइ गर्ने गर्दा समयमा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
Add Comment