काठमाडौं । एनसेलले स्थापनाकालदेखि विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा पर्ने देखिएको छ । एनसेलको शेयर जुनसुकै बेला बेचेर बाहिरिने दाउमा रहेको एनसेल आजियाटा लिमिटेडले ऋणका लागि बसेको जमानी फिर्ता लिई कर्जाको जिम्मेवारी नलिने सार्वजनिक घोषणा नै गरिसकेको पाइएको छ ।
एनसलेले २०६२ सालदेखि पछिल्लोपटक शेयर खरिद बिक्रीको प्रयास गर्दासम्म विभिन्न बैंकबाट ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ ऋण लिएकोमा १५ अर्ब ८५ करोड रुपैयाँ तिर्न बाँकी छ ।
आजियटा ग्रुप बहार्ड मलेसियाले १ डिसेम्बर २०२३ मा स्प्रेक्टलाइट युकेलाई शेयर बिक्री गर्दा गरेको सम्झौतामा समेत एनसेलले नेपालका विभिन्न बैंकबाट लिएको ऋणको जमानी फिर्ता लिने र ऋणको जिम्मेवारी नलिने उल्लेख छ । आजियाटाले स्प्रेक्टलाइट युकेसँग गरेको शेयर खरिद बिक्री सम्झौतालाई सरकारले मान्यता नदिएपछि हालसम्म सो सम्झौता कार्यान्वयन हुन सकेको छैन ।
संसद्का विभिन्न ३ वटा समिति, सर्वोच्च अदालतसहित सरकार स्वयंले कर छली र पूर्वजानकारी नगराएको जस्ता अभियोगमा शेयर खरिद बिक्री रोक्का गरे पनि एनसेलको सञ्चालन गरिरहेको आजियाटा ग्रुप भने आफूले लिएको ऋणसमेत नतिरी नेपाल छाड्ने दाउमा छ ।
सन् २०२३ मा भएको शेयर खरिद बिक्री’दयगत अध्ययन गर्न गठित समितिले समेत आजियटा ग्रुप आफूले लिएको ऋणबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा आजियाटाले विभिन्न बैंकबाट लिएको ऋणमध्ये १५ अर्ब ८५ करोड रुपैयाँ उठाउन निगरानी गर्नुपर्ने भनिएको छ ।
एनसेलले लिएको ऋणमध्ये १४ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ भुक्तानी भएको देखिए पनि ऋण लिएकोमध्ये आधाभन्दा बढी रकम उठाउन भने बैंकहरुलाई सकस हुने देखिएको छ ।
आजियाटा ग्रुपले गरेको असफल शेयर खरिद बिक्री सम्झौतामा महत्वका साथ आफूले लिएको ऋणको जमानी नबस्ने र ऋणको जिम्मेवारीसमेत नलिने भनेर ऋणको दायित्वबाट भाग्न खोजेको हो । शर्माको संयोजकत्वमा गठित समितिले नेपाली बैंकहरुबाट लिइएको ऋणको अवस्था के हुने हो भन्ने गम्भीर प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन र पर्याप्त निगरानी गर्नुपर्ने उल्लेख गरेको छ ।
‘एनसेल आजियाटा लिमिटेडले हालसम्म विभिन्न आर्थिक वर्षमा समेत गरी ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा लिएकोमा १४ अर्ब ६८ करोड ९३ लाख रूपैयाँ भुक्तानी गरेको र १५ अर्ब ८५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ,’ शर्माको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ ।
सरकारले हालसम्म सार्वजनिक नगरेको यो प्रतिवेदनमा एनसेलले विभिन्न बैंकबाट लिएको ऋण जोखिममा परेको भन्दै राष्ट्र बैंकलाई पर्याप्त निगरानी गर्न भनिएको छ ।
‘कम्पनीले आ।व। २०७२–७३ पश्चात् लिएको कर्जाको लागि आजियाटा ग्रुप बर्हाडले जमानी दिएको देखिन्छ । हाल भएको शेयर खरिद बिक्री सम्झौतामा आजियाटा ग्रुप बर्हाडले दिएको जमानी फिर्ता लिने र सो कर्जाको जिम्मेवारी नलिने उल्लेख गरेको देखिन्छ । यस्तो अवस्थामा नेपाली बैंकहरूले दिएको कर्जाको अवस्था के हुने हो रु सो सम्बन्धमा समेत नेपाल राष्ट्र बैंकबाट प्रभावकारी नियमन तथा पर्याप्त निगरानी हुनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।


Add Comment