आफ्नै सरकारको बजेटमा रास्वपाका सांसदहरुको असन्तुष्टी

काठमाडौं । विपक्षी दलहरूले बजेटको आलोचना गरिरहँदा सत्तारूढ दल रास्वपाका सांसदहरूले पनि असन्तुष्टि व्यक्त गर्न थालेका छन् । मंगलबार प्रतिनिधिसभामा उनीहरूले गम्भीर समस्या र भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको भन्दै बजेटमाथि टिप्पणी गर्दै सरकारको आलोचना गरे । यसअघि रास्वपा सांसद अमरेश सिंहले बजेटलाई हावा भरिएको बेलुनको संज्ञा दिँदै आलोचना गरे पनि बजेट बहसमा सहभागी अधिकांश रास्वपा सांसदले अर्थमन्त्री र बजेटको प्रशंसा गरेका छन् ।
तर मंगलबार रास्वपाका दुई सांसदले बजेटमाथि असन्तुष्टि व्यक्त गरे ।
सिन्धुपाल्चोक–१ का सांसद भरत पराजुलीले वायु प्रदूषणका कारण वार्षिक करिब २६ हजार नागरिकको ज्यान गइरहेको र अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादन ९जीडीपी० को ६ प्रतिशत बराबरको क्षति भइरहेको तथ्यांक प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि बजेटमा स्पष्ट दृष्टिकोण नदेखिएको बताए ।
अर्का सांसद हरिप्रसाद भुसालले मुलुकको सुरक्षा संयन्त्रभित्र व्याप्त भ्रष्टाचार र बजेट विनियोजनमा देखिएको असन्तुलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै बजेट शक्ति केन्द्रको वरिपरि घुमेको आशंका व्यक्त गरे ।
पराजुलीले आफ्नै निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ को उदाहरण दिँदै उनले दुई घण्टाको बाटो तय गर्न ६–७ घण्टा लाग्ने गरेको र यसले शिक्षा, स्वास्थ्य र कृषिलाई प्रत्यक्ष असर पारेको गुनासो गरे ।
व्यापारिक दृष्टिकोणले महŒवपूर्ण अरनिको राजमार्गको धुलिखेल–बाह्रबिसे खण्ड अत्यन्तै जीर्ण र पहिरोको जोखिममा रहेको भन्दै उनले यसको स्तरोन्नतिका लागि बजेट मौन रहेकोमा आपत्ति जनाए ।
‘वार्षिक २५ अर्ब राजस्वको लक्ष्य राखिएको तातोपानी भन्सार, अध्यागमन र सुरक्षाकर्मीका आवास अझै पनि २०७२ सालको भूकम्पपछिको भग्नावशेषबाट सञ्चालित छन् । सीमाको अर्कोतर्फ चीनले स्मार्ट सिटी बनाइरहँदा हाम्रो तर्फको अवस्थाले राष्ट्रिय प्रतिष्ठामै आँच पु¥याएको छ,’ उनले भने ।
रास्वपाकै सांसद भुसालले मुलुकको सुरक्षा संयन्त्रभित्र व्याप्त भ्रष्टाचार र बजेट विनियोजनमा देखिएको असन्तुलनप्रति सरकारको ध्यानाकर्षण गराए । सडकमा सुरक्षाकर्मीहरूबाटै भइरहेको अवैध असुली र जिल्लाका विकास योजनामा बजेटको न्यूनताका विषयमा उनले सरकारको आलोचना गरे ।
भुसालले आफ्नो गृहजिल्ला अर्घाखाँचीका महŒवपूर्ण योजना बजेटमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘२ अर्ब लागत अनुमान गरिएको सडकका लागि ५ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । यही गतिले काम हुने हो भने एउटा सडक सम्पन्न हुन चार दशक कुर्नुपर्ने देखिन्छ,’ उनले भने ।