सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, “आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई÷तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए । नेपालमा बसोबास गर्ने सबै जातजातिको आ—आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो”, उनले भने । प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिए । उनले भने, “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो ।”

मानव जातीले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सांस्कृतिक पाटोको बारेमासमेत जानकारी दिए ।

 

“ल्होको अर्थ साल, सम्बत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यो परम्परामा विभिन्न बाह्र पशुपक्षीको नामबाट १२ ल्हो को नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ” उनले भने, “बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक–एक ल्हो फेरिन्छ । ल्हो (वर्ष) सँग खाम (पाँच तत्व) हरू—आगो, पानी, माटो, फलाम र काठसँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् ।”

तामाङ समुदायले मान्ने ल्होछार (नयाँ वर्ष ) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिनको रुपमासमेत लिइने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “हिजो ताकल्हो (बाघ वर्ष)लाई बिदा गरियो । आजदेखि ह्योई (खरायो वर्ष) ल्हो सुरु भयो । यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाईसमेत प्रतिविम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु ।”

नेपालमा मात्र नभएर चीन, मङ्गोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइलैण्ड, ताईवान, मलेसिया, सिङ्गापुरलगायत मङ्गोल—चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ ।