सिमेन्टको मूल्यमा उद्योगीको मिलेमतो, २० प्रतिशतले बढाए भाउ

काठमाडौ । सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य बढाएको निर्माण व्यवसायीहरूले बताएका छन् । उनीहरूले सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँले बढाएको एक उद्योगीले जानकारी दिए । यसअघि सिमेन्टको भाउ सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय रुपैयाँ पुगेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।

सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीहरूले सिमेन्टको भाउ बढाएका हुन् । यसरी धेरै उत्पादकले मिलेमतोमा कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई कार्टेलिङ भन्ने गरिन्छ ।

खासगरी क्लिंकर उत्पादक ठूला उद्योगहरूको पहलमा सबै उद्योगहरूले भाउ बढाएको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।

विगत एक वर्षदेखि सिमेन्ट उद्योगीहरूले भाउ बढाउन प्रयास गरिरहेका थिए । तर, चिनियाँ लगानीका ठूला उद्योगहरू होङ्सी र हुवासिन सिमेन्ट त्यसमा तयार नभएपछि उनीहरूको प्रयास सफल हुन सकेको थिएन ।

तर, यसपटक होङ्सी र हुवासिन सिमेन्ट पनि भाउ बढाउन तयार भएपछि सिमेन्टको भाउ बढेको हो ।

‘दुई चार उद्योगले यसअघि पनि भाउ बढाउने प्रयास गर्दै, पछि हट्दै गरिरहेका थिए । किनभने होङ्सी र हुवासिन सिमेन्टकै बजार ठूलो भएको अवस्थामा उनीहरूको प्रयास दिगो हुन सकेको थिएन । यसपटक भने यी दुई उद्योगीहरू नै पनि भाउ बढे हुन्थ्यो भन्ने मनस्थितिमा थिए, उनीहरू नै तयार भएपछि भाउ बढेको हो,’ ती उद्योगीले भने ।

भाउ बढेपछि ठूलो मात्रामा ऋण भएका उद्योगीहरू ब्रेक इभन (खर्च–आम्दानी बराबर) को अवस्थामा पुग्ने ती उद्योगीको दाबी छ । ‘प्रतिबोरा ६ सय रुपैयाँ भाउ पुग्दा जुन उद्योगको ऋण बाँकी छैन, ती नाफामा जान्छन्, जसको ऋण पनि बाँकी छ, ती ब्रेक इभनमा पुग्छन्,’ ती उद्योगीले भने ।

सिमेन्ट उद्योगीहरूले ‘अस्वस्थ प्रतिस्पर्धा’ गरी विगतमा लागतभन्दा पनि कममा बेचिरहेकोमा त्यसलाई सच्याएको दाबी सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले गरे ।

‘उद्योगीहरूले घाटामै सिमेन्ट बेचिरहेको अवस्था थियो, पब्लिक कम्पनीहरूको वित्तीय विवरणमा पनि तपाईं त्यो देख्न सक्नुहुन्छ, त्यो अवस्थामा रहेर टिक्न सकिँदैन भनेर केही उद्योगहरूले मूल्य समायोजन गरेका छन्,’ उनले भने ।

अहिले सिमेन्टको सिजन पनि भएकाले यो बेला घाटा कम गर्न सकिन्छ कि भन्ने उद्योगहरूको प्रयास रहेको उनको दाबी छ ।

तर, सिमेन्ट उत्पादक संघले मिलेमतोमा भाउ तय गरेको कुरालाई भने उनले अस्वीकार गरे । ‘एउटाले भाउ बढाउँदा अर्कोले पनि बढायो होला तर त्यसमा उद्योग संघको भूमिका छैन,’ उनले भने ।

सिमेन्ट उद्योगहरूले विगतमा घाटामा सिमेन्ट बेच्नु परिरहेकाले केही उद्योगले भाउ बढाएको हुनसक्ने नेपाल उद्योग परिसंघका अध्यक्ष तथा तानसेन सिमेन्टका सञ्चालक राजेशकुमार अग्रवालले बताए ।

‘विगतदेखि नै सिमेन्ट उद्योगहरू घाटामा थिए, विद्युत् कटौती पनि सुरु भएपछि त्यसले लागत थप बढाउने छ, त्यसो हुँदा केही उद्योगहरूले भाउ बढाएको देखिन्छ,’ उनले भने ।

होङ्सी र हुवासिन सिमेन्टले पनि विगतमा घाटामा नै सिमेन्ट बिक्री गरिरहेको अवस्थामा उनीहरूले पनि बढाएको हुनसक्ने उनले बताए ।

तर, सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरेको आरोप भने उनले अस्वीकार गरे ।

अहिले नेपाली उद्योगहरूको कुल सिमेन्ट उत्पादन क्षमता प्रतिवर्ष ५० करोड बोरा रहेको संघले जनाएको छ । तर, उद्योगीहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको उनको संघको भनाइ रहेको छ ।