भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ।
कतार एयरवेजले गत कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको थियो। कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म ३८ वटा उडान तथा अवतरण गरेको एयरवेजले तीन दिनदेखि उडान स्थगित गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले १९ दिनसम्म नियमित उडान तथा अवतरण गर्दै आएको कतार एयरवेजले गत आइतबारदेखि उडान स्थगित गरेको जानकारी दिए।
रावतले उक्त विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमती लिएको र अनुमतिको समय सकिएपछि स्थगित गरेको जानकारी दिए।
‘कतार एयरवेजले नोभेम्बर १२ देखि ३० तारिखसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमति लिएको थियो, उडानको अनुमति केन्द्रबाटै हुने भएकोले अनुमति लिने प्रक्रियामा होला,’ उनले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न इमेलमार्फत पत्राचार गरिएको र एयरवेजले उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको जानकारी दिए।
‘अनुमतिको अवधि सकिएपछि हामीले प्रस्ताव पेश गर्न भनेका छौं, काठमाडौंमा दुईवटा उडान गरिरहेको छ तर, भैरहवाका लागि चासो नदिएको जस्तो देखिएको छ,’ भुलले भने।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन्।
Add Comment