काठमाडौं । विभिन्न बैंकबाट ऋण लिएर नतिर्ने अभियानको नेतृत्व गरेका मेडिकल व्यापारी दुर्गा प्रसाईसँग २ अर्ब ऋण असुली गर्ने बाटो खुलेको छ । बैंकले ऋणको भुक्तानी मागेपछि बैंकविरुद्ध अदालतमा मुद्दा हालेका प्रसाईंको रिट खारेज भएको छ ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।
झापा विर्तामोडको कुमारी बैक लिमिटेडविरुद्ध प्रसाईंको तर्फबाट टिका प्रसाद अधिकारीले निषेधाज्ञाको रिट हालेका थिए ।
हिजो सो रिट खारेज भएको हो । विभिन्न बैंकबाट करोडौंको ऋण लिएर मेडिकल कलेज सञ्चालन गरिरहेका प्रसाईं पछिल्ला केही महिना यता बैंक तथा सहकारीसंस्थाको ऋण नतिर्ने आन्दोलनको नेतृत्व गरिरहेका छन् । आफूपनि ऋण नतिर्ने र अरुलाई पनि तिर्न हुँदैन भन्दै उक्साउँदै आएका प्रसाई हाल भने साइबर अपराध र व्यवसायीलाई धम्क्याएर चन्दा मागेको आरोपमा थुनामा छन् ।
Add Comment