हमासद्वारा शनिबार ६ बन्धक मुक्त , विपिन जोशी परेनन्

हमासले शनिबार  ६ जना इजरायली बन्धकलाई रिहा गरेको छ। मुक्त हुने बन्धकहरूमा ३७ वर्षीय अवेरा मेंगिस्तु, ३७ वर्षीय हिशाम अल सैयद, ३९ वर्षीय तल शोहम, २७ वर्षीय एलिया कोहेन, २३ वर्षीय ओमर वेंकर्ट, र २२ वर्षीय ओमर शेम-तोभ रहेका छन्। इजरायली सञ्चारमाध्यमहरूका अनुसार उनीहरु सबै पुरुष हुन्।

विशेषगरी अवेरा मेंगिस्तु र हिशाम अल सैयद सन् २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको जनाइएको छ। यी दुईजनाको बन्धकमुक्ति लामो समयदेखि चर्चाको विषय बनेको थियो।

तर, यस पटक पनि हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको नाम रिहा हुने सूचीमा समावेश भएको छैन। जोशी गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणका क्रममा बेपत्ता भएका थिए। उनलाई हमासले बन्धक बनाएको आशंका गरिए पनि हालसम्म आधिकारिक पुष्टि हुन सकेको छैन।

विपिन जोशी इजरायली किबुत्ज अलुमिममा कृषिसँग सम्बन्धित काम गर्दै आएका थिए। हमासको आक्रमणका क्रममा सो क्षेत्र सबभन्दा प्रभावित बनेको थियो। त्यसबेला त्यहाँ कार्यरत अन्य नेपाली विद्यार्थीहरूमध्ये दश जनाले ज्यान गुमाएका थिए भने केही घाइते भएका थिए।

विपिनको अवस्था अझै अज्ञात रहेकाले उनका परिवार तथा नेपाल सरकारले उनको अवस्थाबारे स्पष्ट जानकारी दिन इजरायली सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग पहल गरिरहेका छन्।

यसअघि पनि विभिन्न चरणमा हमासले बन्धकहरूको रिहाइ गरेको थियो, तर विपिनबारे कुनै ठोस जानकारी सार्वजनिक हुन सकेको छैन। हमास र इजरायलबीच वार्ताहरू चलिरहेको भए पनि विपिनको उद्धार कहिले हुने भन्ने अझै अनिश्चित छ।