‘३३ वर्ष जागिर खाएर बालकोटको घर बनाएको हुँ, अहिले पनि पेन्सनबाटै घर चलाउँछु’

लेखक तथा प्रथम महिला शाक्यल देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री ओली जस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताइन् ।

आफूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखिन् ।

‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो’, प्रथम महिला शाक्यले भनिन्, ‘सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’

पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाको जीवनका आरोह–अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उनीहरूलाई बधाइ दिनुका साथै सम्मान गरिएको थियो ।