हावाहुरीले उदयपुर र नवलपरासीमा थुप्रै घर र विद्यालयमा क्षति

नवलपुर । शुक्रबार आएको आँधीसहितको हावाहुरीका कारण उदयपुर र नवलपरासी जिल्लामा दर्जनौँ घर, विद्यालय तथा संरचनामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडामा हर्क श्रेष्ठ, ध्रुव खत्री र सम्भव अधिकारीसहितका स्थानीयको घरको छानो उडेको छ। उदयपुरगढी गाउँपालिका–६ स्थित एक माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ। त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकाका अन्य भागमा पनि दर्जनौँ संरचनामा क्षति पुगेको छ।

प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार हालसम्म करिब २२ लाख ६० हजार रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ। थप विवरण संकलन कार्य जारी छ।

यस्तै, पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४.४ मेगाहर्जको १२० फिट अग्लो टावर हावाहुरीले ढालिदिएपछि प्रसारण अवरुद्ध भएको छ। एफएमकी प्रबन्ध निर्देशक राधिका भुसालका अनुसार टावर चार टुक्रा भएको छ र छिटो मर्मत गरी प्रसारण पुनः सुरु गरिनेछ।

पूर्वी तथा पश्चिम नवलपरासीका अन्य भागमा पनि रुख ढल्नु, जस्तापाता उड्नु र बिजुलीका पोल ढल्दा विद्युत् आपूर्तिमा समस्या देखिएको छ।