काठमाडौं । बुधबार मध्यराती समाचार लेखेकै आधारमा प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर जर्नलिस्ट फर जस्टिस नेपाल (जेजेएन) ले विरोध गरेको छ । जेजेएनले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार किशोर श्रेष्ठको पक्राउ तथा सञ्चारमाध्यमको कार्यालयमा छापा मारेर विद्युतीय उपकरण नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त घटनाको कडा निन्दा र विरोध गरेको छ।
नेपालको संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रत्याभूत गरेको छ भने धारा १९ ले सञ्चारको हक सुनिश्चित गर्दै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य सामग्री प्रकाशित तथा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत, दर्ता खारेज वा अवरोध गर्न नहुने स्पष्ट संवैधानिक व्यवस्था गरेको छ। साथै, संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।
जेजेएनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भ हो। पत्रकारले प्रकाशित गरेको समाचार वा सामग्रीप्रति असहमति वा आपत्ति भए त्यसको निरुपण गर्न प्रेस काउन्सिलमार्फत गर्न सकिने स्थापित न्यायिक मान्यता छ । पत्रकारलाई पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयमा छापा मार्ने तथा विद्युतीय उपकरण नियन्त्रणमा लिने जस्ता कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिमाथि गम्भीर प्रश्न उठाएको जेजेएनको ठहर छ।’
जेजेएन पत्रकार श्रेष्ठलाई विनासर्त रिहाइको माग गर्दछ। साथै, सञ्चारमाध्यम तथा पत्रकारलाई आतंकित, भयभीत वा दबाबमा पार्ने कुनै पनि गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायसँग जेजेएन जोडदार माग गर्दछ। प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि कदम अन्ततः लोकतन्त्र, नागरिकको सूचनाको अधिकार र विधिको शासनमाथिको प्रहार हुने भएकाले राज्यका सबै निकायलाई संयमित, जिम्मेवार र संवैधानिक मर्यादाभित्र रहेर कार्य गर्न जेजेएन आग्रह गर्दछ।


Add Comment