काठमाडौं । समाचार लेखेकै आधारमा मध्यरातमा जनआस्थामा प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि त्यसको अहिले सर्वत्र विरोध भएको छ । श्रेष्ठ पक्राउ परेपछि नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठेको छ। समाचारको विषयमा चित्त नबुझेको अवस्थामा स्थापित कानुनी तथा नियामकीय प्रक्रियाको प्रयोग गर्नुको सट्टा पत्रकारलाई नै पक्राउ गर्ने र सञ्चारगृहमा छापा मार्ने घटनाले स्वतन्त्र पत्रकारितामाथि राज्यको हस्तक्षेप बढेको भन्दै पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन्।
नेपाल पत्रकार महासंघले अविलम्व श्रेष्ठलाई रिहा नगरे आन्दोलनका गर्ने चेतावनी पनि दिएको छ । त्यस्तै जर्नलिष्ट फर जस्टिस, प्रेस चौतारी, प्रेस युनियन लगायतका सञ्चारसँग सम्वन्धित संस्थाहरुले विज्ञप्ति जारी गर्दै सरकारको चर्कौ आलोचना गर्दै प्रेसलाई दवाउने प्रयास नगर्न भनेका छन् ।
श्रेष्ठलाई प्रहरीले हिजो राति पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई जनआस्था डटकम’मा प्रकाशित एक समाचार सामग्रीमा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक लोककृष्ण दाहालले समाचार सामग्रीका विषयमा जाहेरी परेको र सोही आधारमा अनुसन्धानका लागि श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
‘‘जनआस्था’ साप्ताहिकमा दिपिका सिंह र सप्तरीका सांसद अमरकान्त चौधरीलाई जोडेर एउटा ‘चुम्बन’को तस्बिर प्रकाशित भएको थियो । जनआस्थाले उक्त तस्बिर सिंहले आफ्नै सामाजिक सञ्जालमा शेयर गरेको दाबी गरेको थियो । तर सिंहले भने आफ्नो तस्बिरलाई चौधरीसँग गलत रूपमा जोडेर फैलाइएको दाबी गरेकी छन्।
यही सामग्रीको विषयलाई लिएर वैयक्तिक गोपनीयतासम्बन्धी कानुनअन्तर्गत उजुरी परेको र त्यसपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी पक्षको भनाइ छ।
तर, समाचारमा प्रकाशित सामग्री विवादित भएको अवस्थामा पत्रकारलाई पक्राउ नै पहिलो विषय बन्नु भनेको प्रेस स्वतन्त्रतामा थि हस्तक्षेपको सज्ञा दिन्छ ।
सामाजिक सञ्जाल अहिले सूचना प्रवाहको महत्वपूर्ण माध्यम बनेको छ। कुनै व्यक्तिले फेसबुक, एक्स, टिकटक वा अन्य प्लेटफर्ममा आफ्नै धारणा, तस्बिर वा सामग्री सार्वजनिक गर्न सक्छ। पछिल्लो समय सार्वजनिक पद धारण गरेर वसेका व्यक्तिहरुले विगतमा जस्तो पत्रकार सम्मेलन वा पत्रकारसँग आफ्नो भनाई राख्ने भन्दा पनि सामाजिक सञ्जाल मार्फत नै आफ्नो विचार राख्ने र त्यसैलाई आधिकारिक स्वीकार्दै सञ्चार माध्यमहरुले सम्वन्धित व्यक्तिले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई आधार बनाएर समाचार तयार गर्ने प्रचलन बढ्दै गएको छ ।
सोही अनुरुप जनआस्थाले पनि सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोलाई प्रमाणका रुपमा पेश गर्दै सार्वजनिक पदमा वसेको व्यक्तिका रुपमा निगरानी स्वरुप सो समाचार प्रकाशन गरेको थियो । तर त्यसको समाधान पत्रकारलाई रातारात पक्राउ गर्नु भने पटक्कै होइन । समाचारमाथि चित्त नबुझे प्रेस काउन्सिल मार्फत समाधान खोजिनु पर्नेमा अहिले किशोर श्रेष्ठलाई मध्यरातमा पक्राउ गरिएकोले पनि चौतफी विरोध भएको हो ।
नेपाल पत्रकार महासंघले समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल वा स्थापित कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई धरपकड गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।
महासंघले श्रेष्ठको रिहाइको माग गर्दै विरोध कार्यक्रमसमेत घोषणा गरेको छ। महासंघका अनुसार श्रेष्ठलाई पक्राउ गरेपछि उनका घर तथा कार्यालयमा समेत प्रहरीले छापा मारेको थियो।
श्रेष्ठ पक्राउ परेको केही घण्टामै प्रहरी टोलीले ‘जनआस्था’को कार्यालयमा पुगेर सम्पादकको कोठा तथा न्यूजरुममा समेत खोजतलास गरेको थियो। त्यसअघि प्रहरीले उनको निवासमा पनि राति करिब १ बजे छापा मारेको थियो।
यसअघि पनि श्रेष्ठमाथि दबाब र धम्कीको विषयमा पत्रकार महासंघले आपत्ति जनाइसकेको थियो। महासंघले समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेको व्यवहारलाई स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भनेको थियो र समाचारप्रति विमति भए प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह गरेको थियो।


Add Comment