श्री ५ भन्ने शब्दबाटै तर्सिएको हो त सरकार ?

काठमाडौं । मुलुकमा चलेको १० बर्षे जनयुद्ध र २०६२/६३ मा भएको १९ दिने आन्दोलनले नेपालको राज्य सञ्चालन र राज्य सत्तामा नै आमूल परिवर्तन गरिदियो । २ सय ४० बर्षिय शाहवंशीय राजतन्त्रलाई त्यही आन्दोनलको बलमा हटाईयो । तात्कालिन राजा ज्ञानेन्द्र शाहले ‘जनताको नासो, जनतालाई नै सुम्एिको’ घोषणा गर्दै पुर्नस्थापित संसदले राजसंस्थाका अधिकार कटौती गर्दै संविधान सभाका निर्वाचन पश्चात राजतन्त्रको अन्त्य भएको घोषणा ग¥यो ।

दुई दुई पटक संविधानसभाको निर्वाचन गरेर पनि संविधान जारी गर्न हम्मे हम्मे भए पनि विदेशी शक्तिहरुकै आडमा संविधान पनि घोषणा गर्दै मुलुक संघीय संरचनामा लगियो । तर यतिखेर जनताले संघीय संरचनालाई पटक्कै मन पराएका छैनन । एउटा राजा फालेर टोलै पिच्छे राजा जन्माउने संघीयता चाहिँदैन भन्ने नारा पनि नगुञ्जिएको होइन ।

तर अहिले राजनीतिक दलहरुले गरेको अकर्मण्यता, जनतामाथिको दिएको धोका, चरम भ्रष्टाचार, बेथितिलेले दलप्रति विद्रोह शुरु भईसकेको छ । युवा पुस्ता दलका नेताहरु विरुद्ध चर्को नारा लगाउन थालिसकेका छन् । बेला बेलामा राष्ट्रपति तथा प्रधानमन्त्रीको सवारीका बेला हुने सवारी जाममा समयमा सडक मै उनीहरु विरुद्ध चर्को नारा लगाएको देख्न र सुन्न सकिन्छ । तर त्यसलाई रोक्न सरकारले हर प्रयास गरिरहेको हुन्छ ।

पछिल्लो समय राजसंस्थाको पुर्नस्थापनका लागि भन्दै गरिएको आन्दोलन पश्चात सरकार डराएको भने देखिन्छ । सरकार यति धेरै डराएको आभाष भईरहेको छ कि, निवर्तमान राजाका सम्वाद सचिव डा फणिराज पाठकलाई प्रहरीले गरेको आदेशले नै पुष्टि गरेको छ ।

निवर्तमान राजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरूमा ‘श्री ५’ को भन्दै प्रकाशन गरेको बहानामा फणिराज पाठकलाई प्रहरीले पक्राउ गर्नु र अव उप्रान्त श्री ५ का नामबाट विज्ञप्ति ननिकाल्ने प्रतिवद्धता हस्ताक्षर गर्न लगाएर उनलाई रिहा गर्नुले सरकार कामसँग हैन शब्दसँगै अत्तालिएको स्पष्ट हुन्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज गरी पाठकलाई उनको परिवारको जिम्मामा छोडेको बताईरहँदा गृह प्रशासनको अलोकतान्त्रिक व्यवहार भयो कि भन्ने प्रश्न उब्जिएको देखिन्छ । पाठकलाई उनले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल फेसवुक पेजमा श्री ५ उल्लेख गरिएको पोष्टहरु हटाउन भन्नु नै सरकार लोकतन्त्र र वाकस्वतन्त्रताको पक्षमा छैन भन्ने संकेत देखिएकोछ ।

संसदमा राजसंस्थाको वकालत गर्ने राजनीतिक दल छ । संसदमा राजसंस्थाको वकालत गरिरहेको छ भने सामाजिक सञ्जाल वा विज्ञप्तिमा श्री ५ लेख्दैमा निवर्तमान राजाका सम्वाद सचिवलाई प्रहरीलाई अनुसन्धान गर्न लगाउनु र पोष्ट डिलित गराउन लगाउने वर्तमान गणतान्त्रिक सरकार निरंकुशता तिर अघि बढेको स्पष्ट हुन्छ ।

कुनै पनि पदमा रहेको व्यक्ति पूर्व हुनका लागि अहिले पनि सो पदमा अर्को व्यक्ति छ भन्ने बुझिन्छ । त्यसो भए पूर्व राजा उल्लेख गरिरहँदा अहिले पनि राजाको पदमा कोही यथावत छ भन्ने तर्क पनि कतिपय राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।