बैंक तथा वित्तीय क्षेत्रको बेथिति, १२ बाणिज्य वैकको मुनाफा नकारात्मक

काठमाडौं । नेपालको वैकिङ्ग क्षेत्र बाहिरबाट हेर्दा जति सहज देखिएको छ । भित्र भित्र त्यत्ति नै बेथिति रहेको छ । बैकिङ्ग क्षेत्रमा रहेको बेथिति रोक्नका लागि गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सचेत गराएको छ ।

आयोगको सार्वजनिक गरेको प्रतिवेदनले वित्तीय अनुशासन कमजोर बन्दै गएको, कर्जा असुली चुनौतीपूर्ण भएको र अराजक गतिविधि बढेको निष्कर्ष निकालेको छ । आयोगले आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनसँगै निजी क्षेत्र, बैंकिङ प्रणाली र सहकारी क्षेत्रको अवस्थाबारे विस्तृतसहित सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरेको छ ।
प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा एकैसाथ धेरै चुनौतीहरू देखा परेका छन् । ब्याजदर इतिहासकै न्यून बिन्दुमा झरे पनि कर्जाको माग अत्यन्त कमजोर हुँदा तरलता व्यवस्थापनमा समस्या सिर्जना भएको छ । व्यापार व्यवसायमा आएको सुस्ततासँगै खराब कर्जा निरन्तर बढ्दै गएको छ । पछिल्लो त्रैमासिकमा खराब कर्जा अनुपात ४।८६ प्रतिशत पुगेको र आगामी दिनमा अझ बढ्ने संकेत देखिएको छ । कर्जा असुलीमा समेत उल्लेखनीय गिरावट आएको छ । ऋणीहरूबाट धम्की, दुर्व्यवहार र अवरोध बढ्दै जाँदा बैंकका कर्मचारीहरू नै असुरक्षित बन्न पुगेका बताइएको छ ।
ऋण लिएपछि तिर्न नमान्ने र कानुनअनुसार असुली गर्न खोज्दा कर्मचारीमाथि आक्रमण हुने प्रवृत्ति देखिएको छ । बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ । हाल करिब ५२ अर्ब रुपैयाँ बराबरको त्यस्तो सम्पत्ति थुप्रिएको उल्लेख छ, जसले समग्र वित्तीय प्रणालीमै नकारात्मक प्रभाव पार्न सक्ने आयोगको ठहर छ । उल्लेखित कारणले बैंकहरूको नाफा घट्दो क्रममा रहेको छ । २० वाणिज्य बैंकमध्ये १२ वटाको वितरणयोग्य मुनाफा नकारात्मक देखिएको र कुल नाफा पनि अघिल्लो वर्षको तुलनामा घटेको बताइएको छ ।