काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आगामी महिना हुन लागेको पार्टीको विधान महाधिवेशनमा आफ्नो सहभागिता नै चुनौतीपूर्ण देखिएको छ।
यसअघि आफू उपाध्यक्ष रहेको दलको सदस्यता नवीकरण गरेर राजनीतिक गतिविधि बढाएकी भण्डारीले पार्टीको विधान महाधिवेशनमा भाग लिन नपाउने भएपछि उनीपक्षीय नेताहरूले मनोनयनबाट भए पनि उनलाई प्रतिनिधि बनाइनुपर्ने बताएका छन्।
यसअनुसार विधान महाधिवेशनमा उनको सहभागिता केपी ओलीको अध्यक्षतामा रहने केन्द्रीय समितिको निर्णयमा भर पर्ने जानकारहरू बताउँछन्।
नेकपा एमाले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा पार्टीको विधान महाधिवेशन गर्दै छ।
विधान महाधिवेशनमा सौराहामा भएको पार्टीको पछिल्लो महाधिवेशनमा प्रतिनिधि बनेका व्यक्तिहरू मात्रै भाग लिन पाउने व्यवस्था छ। त्यस बेला राष्ट्रपति रहेकी भण्डारी एमालेको दशौं महाधिवेशनमा प्रतिनिधि मात्रै नभएर सदस्य समेत थिइनन्।
हालै इमेज च्यानललाई दिएको एक अन्तर्वार्तामा भण्डारीले आफू पार्टीको नेतृत्व गर्ने ‘लक्ष्य’ सहित एमालेका फर्किएको बताएकी थिइन्।एमालेलाई ‘नेतृत्व दिने गरी फर्कन लाग्नुभएको हो’ भन्ने प्रश्नमा भण्डारीले भनेकी थिइन् त्यसमा त कुनै सन्देह छ र?
भण्डारीलाई पहिलो गाँसमै ढुङ्गा ?
अहिले एमालेको साधारण सदस्य मात्रै रहेकी भण्डारीलाई पार्टी जीवनको नेतृत्वदायी भूमिकामा उक्लन पहिलो खुट्किलो विधान महाधिवेशनमा आफ्नो पक्षमा निर्णय गराउनु हुने छ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आगामी फागुनभित्र ११औँ महाधिवेशन हुने ठानिएको छ।
उक्त महाधिवेशनअघि पार्टीका महत्त्वपूर्ण नीति तय गर्ने विधान महाधिवेशनमै भण्डारी उपस्थित हुन नपाउने अवस्था रहेको एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए।
एमालेको सदस्यता नवीकरण गरे पनि पार्टीको कुनै पनि तहको प्रतिनिधि र केन्द्रीय समितिमा सदस्य नहुँदा कतिपय नीतिगत बैठकहरूमा भण्डारी उपस्थित हुन नपाउने अवस्था छ।
हालैको एक पत्रकार सम्मेलनमा भण्डारीले आफूलाई पार्टीमा दिइने भूमिका केन्द्रीय कमिटीले गर्ने निर्णयमा भर पर्ने बताएकी थिइन्।
‘पार्टीभित्रको कुन संरचनामा के भूमिका भन्ने चाहिँ पार्टीको माथिल्लो तहको नेतृत्वले, महाधिवेशन नहुन्जेल केन्द्रीय कमिटी नै सर्वोच्च अङ्ग हुन्छ, केन्द्रीय कमिटीले के निर्णय गर्छ, कस्तो जिम्मेवारी दिन्छ त्यसमा भर पर्छ,’ उनले भनेकी थिइन्।
आगामी सोमबारबाट सुरु हुने एमाले केन्द्रीय समितिको बैठकमा भण्डारीलाई विधान अधिवेशनमा प्रतिनिधि बनाउने विषयले पनि प्रवेश पाउने उनीनिकट नेताहरूको अपेक्षा छ।
भदौमा हुने विधान महाधिवेशनमा करिब २हजार २०० जना प्रतिनिधिको सहभागिता रहने ठानिएको छ।
ओली छैनन् सकारात्मक
दोस्रो कार्यकाल एमालेको अध्यक्ष बनेका ओलीले आगामी महाधिवेशनबाट पनि आफू अध्यक्षमा दोहोरिने तयारी गरेको उनीनिकट नेताहरूले सङ्केत गरिसकेका छन्।
त्यसका लागि एमालेको विधान महाधिवेशनमा दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष हुन नपाइने र ७० वर्षको उमेरहदको व्यवस्था हटाउने तयारी गरिएको आशङ्का भण्डारीको पक्षका नेताहरूको छ।
पत्रकार विजयकुमार पाण्डेलाई दिएको एक अन्तर्वार्तामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले राज्यका सबै अङ्गको प्रमुखको हैसियत हुने राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने विषयबारे नैतिक प्रश्न उठाएका छन्।
‘उहाँले नैतिक रूपमा आउन हुन्छ वा हुँदैन, गणतन्त्रमा के असर पर्छ, समाजमा के असर पर्छ, राजनीतिमा के असर पर्छ, व्यवस्थामा, उहाँकै जीवनमा के असर पर्छ, यी सबै सोचेर उहाँलाई दिनुपर्ने जवाफ वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै,’ ओलीले भनेका छन्।
एमालेमा फर्कनुअघि आफूसँग उनले कुनै सल्लाह समेत नगरेको र उनलाई दलीय राजनीतिमा ल्याउनमा आफ्नो कुनै भूमिका नरहेको दाबी ओलीले उक्त अन्तर्वार्तामा गरेका छन्। साभार बीबीसी नेपाली


Add Comment