काठमाडौँ ।आफ्नो पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आज सरकार विरुद्ध प्रतिवाद गर्ने निर्णयसँग आज विहान सवेरैदेखि नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई अलर्ट बनाइएको छ । शहरका विभिन्न चोकहरुमा प्रहरीको उपस्थिति वाक्लो बनाएको छ । नेकपा एमालेले गर्ने प्रदर्शनलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले देशभरका प्रहरीलाई बिहान ८ बजेदेखि स्ट्याण्डबाई ड्युटी छन् भने सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार विहानै पक्राउ गरिएको थियो । त्यसको विरोधमा एमालेले शनिबार बिहानैदेखि प्रदर्शन गरेको थियो । सरकारले जेन्जी आन्दोलन जाँचबुझआयोगको प्रतिवेदन कार्यान्वयनका लागि शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
एमालेद्वारा पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने भएको छ । त्यसक्रममा निषेधित क्षेत्रको सुरक्षा, विभिन्न भवन र व्यक्तिहरुको सुरक्षालाई ध्यान दिन केन्द्रीय प्रहरीले देशभरका युनिटलाई गए राति आदेश दिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सुरक्षा व्यवस्थापन प्रहरीको नियमित कार्य भएका कारण त्यसका लागि अलग्गै आदेशको आवश्यकता नहुने बताए । यद्यपि, परिस्थितिको गाम्भीर्यतालाई हेरेर सम्बन्धित कमाण्डरको आदेश बमोजिम आवश्यक रुपमा परिचालित हुने भनिएको उनले बताए ।


Add Comment