काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड बीच ५५ मिनेट लामो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुई नेताले द्विपक्षीय सम्बन्ध, युक्रेन युद्ध तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरेका छन्।
वार्तामा ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्नुपर्ने आफ्नो अडान दोहोर्याउँदै कीभ र अमेरिकी युरोपेली साझेदारहरूलाई प्रभाव पार्न तयार रहेको बताएका थिए। जवाफमा पुटिनले रुसको नागरिक पूर्वाधारमाथि युक्रेनले गर्ने आक्रमणले युद्धक्षेत्रको अवस्था परिवर्तन गर्न नसक्ने बताएका छन्।
पुटिनले युक्रेनी राष्ट्रपति जेलेस्की भेटवार्ताका लागि इच्छुक भए मस्को आउन सक्ने सन्देशसमेत ट्रम्पमार्फत दिएका छन्। साथै दुवै नेताले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जेरेड कुशनर निकट भविष्यमै रुस फर्कने विषयमा सहमति जनाएको बताइएको छ।
वार्ताका क्रममा पुटिनले जेलेंस्कीले होलोकास्टको त्रासदी बिर्सन नहुने टिप्पणी गरेका थिए। उनले ट्रम्पकी पत्नीले रुसी र युक्रेनी बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन खेलेको भूमिकाको समेत प्रशंसा गरेका छन्।
दुवै नेताबीच अमेरिका–इरान सम्बन्ध र सम्भावित सम्झौताबारे पनि छलफल भएको थियो। ट्रम्पले अमेरिका र इरानबीचको सहमति नजिक पुगेको र सार्वजनिक हुन सक्ने जानकारी दिएका थिए भने पुटिनले सम्भावित अमेरिका–इरान द्वन्द्व नियन्त्रणमा रहेकोमा सन्तुष्टि व्यक्त गरेका छन्।
यसैबीच ट्रम्पको ८०औँ जन्मदिनका अवसरमा पुटिनले शुभकामना दिएका थिए। ट्रम्पले धन्यवाद व्यक्त गर्दै आफूलाई जन्मदिनको शुभकामना दिने पहिलो विदेशी नेता पुटिन रहेको बताएका छन्। पुटिनले कुनै उपहार भने नपठाएको जनाइएको छ। साथै उनले ट्रम्पलाई आगामी विश्वकप सफलतापूर्वक आयोजना गर्न शुभकामना दिँदै रुसले सन् २०१८ मा विश्वकप सफलतापूर्वक आयोजना गरेको स्मरण गराएका छन्।

