काठमाडौं । नेपालस्थित रसियन दूतावासले काठमाडौंमा विशेष समारोह आयोजना गरी रसिया दिवस मनाएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा दूतावासले दिवस मनाएको हो ।
समारोहलाई सम्बोधन गर्दै नेपालका लागि रसियन राजदूतले नेपाल र रसियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका थिए। उनले दुई देशबीच कूटनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक तथा पूर्वाधार विकासका क्षेत्रमा भएको सहकार्यको स्मरण गर्दै नेपालका विभिन्न क्षेत्रमा रसियाले पु¥याएको योगदानबारे प्रकाश पारे।
राजदूतले नेपाल–रसिया सम्बन्ध आगामी दिनमा अझ सुदृढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गर्दै दुई देशबीचको आपसी सहयोगले पारस्परिक हित र समृद्धिमा योगदान पु¥याउने बताए।
कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
समारोहलाई थप आकर्षक बनाउन रसियाबाट आएका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुति उपस्थित अतिथिहरूले निकै रुचिपूर्वक अवलोकन गरेका थिए। रसियन सांस्कृतिक झल्को दिने गीत तथा संगीतले कार्यक्रममा विशेष रौनक थपेको थियो ।
नेपाल र रसियाबीचको ऐतिहासिक मित्रता तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दूतावासले जनाएको छ ।


Add Comment