दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । आफूलाई सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम सुनुवाइबाटै विवादको निरूपण गर्न सकिने भन्दै तत्काल अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गरेको हो।

अदालतले निवेदकले माग गरेको विषय प्रहरी सङ्गठनको नेतृत्व र देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीसँग जोडिएको संवेदनशील सार्वजनिक महत्वको विषय भएको उल्लेख गरेको छ। साथै, रिटमा उठाइएका कानुनी प्रश्नहरूको निरूपण अन्तिम सुनुवाइका क्रममा हुने भएकाले हाललाई अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेशमा जनाइएको छ।

यद्यपि, सर्वोच्चले उक्त रिटलाई प्राथमिकताका साथ छिटो टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याएको छ। अदालतले विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै सुनुवाइका लागि पेसी चढाउन आदेश दिएको छ। साथै, पेसी स्थगित नहुने गरी दुवै पक्षलाई पूर्वसूचना दिनसमेत निर्देशन दिएको छ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई उठाइएका विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएको छ।’

रिट निवेदक कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र डा। दिनमणि पोखरेललगायतले बहस गरेका थिए।

त्यसैगरी, नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता डा। नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहानलगायतले सरकारको पक्षबाट बहस गरेका थिए।