दाङ । सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्नेलगायत सुविधा दिँदै आएको छ। तर, यी सुविधा पाउन भने त्यति सजिलो छैन।
सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले गाडी भाडामा छुट पाउन संघर्ष गर्नुपर्ने हुन्छ। त्यही पनि छुट पाउन गाह्रो छ।
‘सार्वजनिक सवारीसाधनमा गाडी भाडामा जुन दिने भनिएको छुट सुविधा छ, त्यो पूर्णरूपमा लागू भएको छैन’, आनन्द ज्येष्ठ नागरिक सञ्जाल लमहीका अध्यक्ष जागेश्वर घिमिरेले भने, ‘स्वास्थ्योपचारमा पनि सुविधा छैन। औषधि किनेर खानुपर्ने अवस्था छ। वास्तविक आवश्यकतामा सहुलियत दिन जरुरी छ।’
सरकारी कार्यालय तथा प्रशासनिक निकायको सुविधा ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने उनले बताए।
‘धेरै भीड हुने कार्यालय मालपोत हो। त्यहाँको सुविधा लिन ज्येष्ठ नागरिकले कति सास्ती भोग्नुपर्छ भनेर कसैले ख्याल गरेको छ?,’ उनले भने, ‘ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्।’

