राजनीतिक सङ्कट, आर्थिक सङ्कट, अनुशासनको सङ्कट, व्यवस्थापकीय सङ्कट । देश सङ्कटको गम्भीर अवस्थामा फसिसक्यो । संसद संसदजस्तो छैन, सांसद सांसदजस्ता छैनन् । पार्टी पसल जस्ता छन् । नेता व्यवसायी जस्ता भए । नागरिक समाज, बुद्धिजीवी र पत्रकार पार्टी पार्टीमा, नेता नेताका गुटमा विभाजित भएका छन् ।
सङ्कटको सत्य र यसको निराकरण कसरी गर्न सकिन्छ भनेर विवेकशील भएर कसैले मुद्दा उठाइरहेका छैनन् । जे भइरहेको छ, मात्र विदेशी चलखेलमा विचौलिया बन्ने र स्वदेशको स्वाधीनतामा मौनता साध्ने काम भइरहेको छ । स्पष्ट रूपमा के हो जनतालाई कोही बताउँदैनन् । स्वयम् पार्टी अध्यक्षहरू राष्ट्रिय मुद्दाहरूका विषयमा पार्टीभित्र छलफल नै गर्दैनन्, गराउँदैनन् ।
लाग्छ, ठूला नेताको जे निर्णय हुन्छ, त्यस पार्टीको निर्णय त्यही हो । यसरी विवेकलाई थिचेर राष्ट्रलाई बन्दकीमा राखिएको छ । यो अस्तित्व मेटाउने गम्भीर साजिस अनुभूति भइरहेको छ । सामाजिक, आर्थिक, राजनीतिक, मानवीय, न्यायिक कुनै पनि सूचकाङ्कहरू सकारात्मक छैनन् । प्रत्येक व्यक्तिका मुखमा नकारात्मक सवाल छन् । सवालको जवाफ दिने जिम्मेवारी कसैले निर्वहन गरिरहेका छैनन् । हुरीको कौवा र नेपालको लोकतन्त्र उस्तै उस्तै अनुभूत गर्न सकिन्छ । समग्रमा विश्लेषण गर्ने विश्लेषकहरू भन्छन्– नेपाल असफल राष्ट्र घोषित हुनमात्र बाँकी छ । परिवर्तनका बाहक र लोकतन्त्रका परमात्मा हामी हौं भन्ने प्रत्येक नेता अविश्वसनीय भइसके ।
आमनागरिकको आस्था कुनै पनि नेतामा बाँकी छैन । लोकतान्त्रिक गणतन्त्र र संघीय व्यवस्था जनताका लागि अनावश्यक भार बन्न थालेका छ । परिवर्तन ल्याउँछौं, देशलाई प्रजातान्त्रिक मार्गबाट समाजवादको सम्पन्नतामा पु¥याउँछौं भन्ने कुनै पनि पार्टी, नेताका विधि व्यवहार हेर्दा प्रष्टै देखिन्छ, उनीहरूमात्र लाभ र स्वार्थपूर्तिमात्र हेरिरहेका छन् । देशको अस्तित्व, स्वाधीनता, सार्वभौमिकताबारेमा कसैलाई पनि कुनै चिन्ता र चासो छैन । राष्ट्र सङ्कटबाट महासङ्कटतिर गइरहेको छ । राष्ट्रलाई असफल हुनबाट कसरी बचाउने भन्ने विषयमा राष्ट्रिय स्तरमै बहस चलाएर निकास निकाल्नुपर्नेमा एक नेताले अर्कोलाई, एक पार्टीले दोस्रोलाई कसरी खुइल्याउने भन्ने वाकयुद्ध र साजिसयुद्ध चलिरहेको छ । यहाँसम्म कि लोकतन्त्रको अन्तिम सत्य जनादेश हो ।
जनादेश लिनका लागि समेत संविधान र कानुन बाझियो भनेर झगडा चर्काइरहेका छन् । सत्य के हो भने यो संविधान यिनैले निर्माण गरेका हुन् । कानुन पनि यिनैले बनाएका हुन् । जब आफैले निर्माण गरेको संविधान र कानुनमा खोट देखाउँछन् भने त्यो खोटको जिम्मेवारी लिन कुनै नेता अग्रसर देखिदैनन् ।
अब जनताले हस्ताक्षेप गर्नुपर्छ । जनताले हस्तक्षेप नगर्ने हो भने अक्षमहरूको गैरजिम्मेवारी चरित्र झन झन बढेर जानेछ । लोकतन्त्र असफल भएर राष्ट्र भीरबाट गुल्टिने अवस्थामा पुग्न लाग्यो भनेपछि जनता अग्रसर हुनैपर्छ र यस्ता अक्षम र गैरजिम्मेवारहरूलाई पाखा लगाउनै पर्छ । जनताले चामल र कनिका, भूस केलाउने चुनावमै हो । अबको चुनावमा पनि जनता नेताहरूको सपने आश्वासनमा लागे भने अर्को चुनावसम्म अस्तित्व रहला नरहला ?
Add Comment