काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जानकारी छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् ।
सोमबार नै सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्नुहुने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले आज भेट गने कार्यक्रम छ ।
चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
Add Comment