काठमाडौँ । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये १ जनाको मृत्यु भएको छ । हिमपहिरोमा १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । सोमबार अबेरसम्म ४ जनाको उद्धार गरिएको र थप ६ जनाको आज बिहान उद्धार गरिएको उनले बताए ।
आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिएका छन् । “सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ”, उनले भने, “उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।”
पहिरामा परी उद्धार गरिएका २ जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिरामा परेकाहको उद्वारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।
Add Comment