काठमाडाैँ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज दिउँसो १ बजे बस्दै छ । बैठक राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ ।
पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।
दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्ने छन् । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेसन आह्वान गरेकाे थियाे ।
पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।
Add Comment