काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । आज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९औँ साधारणसभा उद्घाटन गर्दै उहाँले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु ।
प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाइँहरूको साथ हुनेछ ।
कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसङ्गतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । रासस
Add Comment