तीन क्षेत्रकै उपनिर्वाचन : मतदानको निर्धारित समय सकियो

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भएको मतदानको निर्धारित समय सकिएको छ । जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार विहान ७ बजेबाट सुरु भएको मतदानको समय सकिएको हो ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।

बारा निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव,नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा लगायत मैदानमा छन् । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको हो । त्यसकारण त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछाने,काङ्ग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट राम प्रसाद न्यौपाने लगायत मैदानमा छन् । लामिछानेको नागरिकता बिवादमा सांसद पद गएपछि यो क्षेत्र खाली भएको थियो ।

ताजा अपडेट