काठमाडौँ । पछिल्लो समय सांसदहरु साना साना एनजिओको दूत बनेर विदेश भ्रमणमा जाने प्रचलन बढ्दै गईरहेको छ । सांसदहरुको जथाभावी विदेश भ्रमणमा एमालेका सांसदहरुको संख्या बढेपछि एमाले भित्र पनि खैलाबैला मात्र मच्चिए पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमतिबिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन नै दिए ।
सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् । पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताए ।
विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै उनले त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने बताए ।
अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने समेत बताए ।
Add Comment