पर्यटनमन्त्रीले बोलाए विकास कोषको बैठक, धर्मशाला फेरि मारवाडी समितिलाई दिने संकेत

काठमाडौँ । फूलपातीको अघिल्लो दिन काठमाडौं महानगरपालिकाले पशुपति धर्मशालामा मारवाडी सेवा समितिको बोर्ड हटाएर काठमाडौं महानगरपालिका धर्मशाला राखेपछि सो धर्मशालाको विवाल चुलिएको छ । कोष वैठकले नै धर्मशाला काठमाडौं महानगरपालिकालाई चलाउन दिने गरी भएको निर्णय बमोजिम महानगरपालिका र कोष बीच सम्झौता भए लगतै महानगरले सो धर्मशालामा आफ्नो बोर्ड राखी धर्मशाला खाली गराउन पुगेको थियो ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने नीति अघि सारेको थियो । तर अहिले फेरि कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शौशला धर्मशाला फेरि मारवाडी सेवा समितिलाई नै सुम्पने तयारी गरिरहेको बुझिएको छ ।

काठमाडौं महानगरपालिका र कोष वीच भएको सम्झौता बमोजिम महानगरले धर्मशाला खाली गराउन पुगेपनि मारवाडी सेवा समितिले आन्दोलन गरेको थियो । समितिका पदाधिकारीहरुले हदैसम्मका गाली गलौजसम्म पनि गरेका थिए । त्यसको लगतै महानगरका मेयर बालेन साहले सरकारले कसले चलाउँछ भन्ने कुराको इंगित गर्दै सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका थिए । तर मन्त्रीले भने गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्न भन्दै पशुपति क्षेत्र विकास कोषको बैठक आगामी ४ गतेलाई बोलाएका छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएक छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनु भएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् । मन्त्री धर्मशाला खाली गराउने निर्देशनसँगै अव फेरि मारवाडी सेवा समितिलाई पुन गौशाला धर्मशाला सञ्चालन गर्न अनुमति मन्त्रीले दिने तयारी गरेको बुझिएको छ ।