काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कार्वाही गर्ने जनाएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको हो ।
सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेकोले कार्वाही गर्ने कानून तयार गरी कार्वाही गर्ने गृहको लक्ष्य छ ।
‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।
Add Comment