काठमाडौं । विश्वमहामारीका रुपमा फैलिएको कोभिड भाईरस पछि फेरि चीनबाट नयाँ भाइरस ह्युमन मेटान्युमोभाइरस को संक्रमण फैलिन थालेपछि विस्तारले त्रास बढाएको छ। छिमेकी भारतमा तीन जना बालबालिकामा एचएमपीभी भाइरस संक्रमणको पुष्टि भएपछि यो त्रास बढेको हो । श्वास–प्रश्वासबाट फैलने एचएमपीभी भाइरसको संक्रमणको तौरतरिका कोभिड–१९सँग मिल्दोजुल्दो रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
संक्रमितले खोकी एवं हाँच्छ्यु गर्दा र संक्रमितसँग हात मिलाउने तथा लुगाफाटोको प्रयोगले एचएमपीभी भाइरस संक्रमण फैलिरहेको पाइएको छ। सरकारी तवरबाट पूर्वतयारीमा जुट्नका लागि पूर्वजनस्वास्थ्यविज्ञहरूले सुझाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सदस्य राष्ट्रहरूलाई भाइरस संक्रमणको जोखिमप्रति सचेत रहन आग्रह गरिसकेको छैन। यद्यपि, खुला सीमा र निर्वाध आवतजावतका कारण नेपाल पनि एचएमपीभी भाइरसको जोखिम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘छिमेकी मुलुकहरूका एचएमपीभी संक्रमण पुष्टि भइसकेको छ। हामी जोखिममा छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।बुढाथोकी भन्छन्, ‘ढिलोचाँडो नेपालभित्र पनि भाइरस देखिन सक्छ। भाइरसलाई फैलाउने कि नफैलाउने वा जटिल बन्न दिने/नदिने नेपाली जनतामै भर पर्छ।’
भारतमा कर्नाटक, गुजरात र बैंगलोरमा तीन जना बालबालिकामा संक्रमण पुष्टि भएको पाइएको छ। संक्रमितहरू विदेशमा यात्रा नगरेको पाइएको छ। यद्यपि, आन्द्र प्रदेश सरकार, कर्नाटक स्वास्थ्य विभागलगायतले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ जस्तै एक व्यक्तिबाट अर्कोमा सर्ने जोखिम रहे पनि आत्तिहाल्नु नपर्ने जनाएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जाडो मौसममा श्वासप्रश्वासको संक्रमण उच्च भएको उल्लेख गर्दै चीनमा यात्रा कुनै जोखिम नरहेको जनाएका छन्।
चीनमा पुस महिनाको पहिलो सातादेखि नै संक्रमण फैलन थालेको सञ्चारमाध्यमहरूले जनाएका छन्। बालबालिका, ज्येष्ठ नागरिक र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा संक्रमण बढी पाइएको छ।
Add Comment