प्राधिकरणलाई नयाँ उचाइमा पुर्‍याउने नवनियुक्त कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

शपथपछि पदभार ग्रहण गर्दै शाक्यले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले उनलाई शपथग्रहण गराएका हुन् ।

शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने बक्यौता मन्त्रिपरिषद्को निर्णयलाईसमेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवं ग्राहकलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिएका दिए।

मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न आग्रह गरे ।

मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए ।
शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।