राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधरको शक्ति प्रर्दशनमा सुरक्षा व्यवस्था कडा ४५ सय प्रहरी सडकमा

काठमाडौं । शुक्रबार (आज) दिउँसो काठमाडौंमा करीव २० वर्षपछि राजतन्त्रको पक्षमा तीनकुनेमा शक्ति प्रर्दशन गर्दैछन् । त्यस्तै गणतन्त्र पक्षधरहरुले राजतन्त्रको विपक्षमा प्रदर्शनी मार्गको मुख्य सडकमा शक्ति प्रदर्शन गर्दैछन । राजतन्त्र र गणतन्त्र पक्षधरको शक्ति प्रर्दशनमा हुन सक्न सम्भावित असुरक्षालाई महसुस गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । राजतन्त्र पक्षधरहरुका प्रदर्शनी पञ्चायत कालमा पटक पटक मन्त्री बनेका ८७ बर्षिय नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति नाम दिए तिनकुनेमा सभा गर्दै छन् ।
त्यस्तै गणतन्त्र पक्षधरका तर्पर्mबाट माओवादी केन्द्र , एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको जनसभा प्रदर्शनीमार्गमा हुँदैछ ।

दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो । समाजवादी मोर्चाले सभाका लागि भद्रकाली र पुरानो बसपार्कबिच राष्ट्रिय सभातर्फ प्रवेश गर्ने सडकको मुखमै मञ्च खडा गर्ने भनिएको छ । प्रदर्शनमा सहभागी हुनेलाई उत्तरतर्फ पुरानो बसपार्क हुँदै रत्नपार्कसम्म, पूर्वतर्फ राष्ट्रिय सभा अघिल्लोतर्फको सडक हुँदै पद्मोदय मोडसम्म र दक्षिणतर्फ भद्रकालीसम्म राख्ने योजना प्रहरीले बनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुरक्षाका सबै प्रबन्ध मिलाइएको बताए । ‘एउटा पक्षको भृकुटीमण्डपमा र अर्को पक्षको तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासनले स्थान तोकेको छ । दुुवै कार्यक्रम शान्तिपूर्ण होस् भन्ने पक्षमा प्रहरी छ,’ उनले भने ।

दुई पक्षलाई जम्काभेट हुन नदिने रणनीतिमा प्रहरी छ । एसपी बोहराका अनुसार दुवै पक्षको भेट हुन नदिन झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरिने र उनीहरूलाई फरक–फरक सडक प्रयोग गरी सभास्थलसम्म लैजान प्रहरीले भूमिका खेल्नेछ । ‘प्रदर्शनकारीलाई फरक–फरक सडक प्रयोग गराउन सुरक्षाकर्मीले सघाउनेछन् । यसका लागि ट्राफिक प्रहरीको सहयोग लिइएको छ । उनीहरूले प्रदर्शनकारी पहिचान गरी सोहीअनुसार सडकको डाइर्भसन खुलाउनेछन् । सम्भावित दुर्घटना रोक्न प्रहरीको अधिकतम प्रयास रहनेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा प्रहरीको तीन हजार जनशक्ति परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई अलर्टमा राखेको छ । प्रहरीका अनुसार सिभिलमा पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । उनीहरूले सूचना संकलन गर्नेछन् । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि सभामा सहभागी हुनेछन् । दुवै सभाको निगरानी सिसिटिभी क्यामेरा र ड्रोनबाट हुनेछ ।