वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

काठमाडौं । वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। अर्बुद (क्यान्सर) रोगबाट पीडित चालिसेको आज बिहान काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

स्व. चालिसेको पार्थिव शरीरमा काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसे र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। गोकर्णेश्वर नगरप्रहरीद्वारा सलामी अर्पण गरिएको थियो।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न शिक्षामन्त्री रघुजी पन्त, सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा, पत्रकार, साहित्यकारलगायत व्यक्तित्वहरू गोकर्ण घाट पुगेका थिए।

गोरखापत्र संस्थानको अध्यक्ष तथा गोरखापत्र दैनिकको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका चालिसे प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष पनि थिए। उनले कथा, उपन्यास, नियात्रा, पत्रकारिता र बालसाहित्यसम्बन्धी ५० भन्दा बढी पुस्तक प्रकाशित गरेका छन्।

स्व. चालिसेका दुई छोरा र एक छोरी छन्। उनको अन्त्येष्टि आजै गोकर्णेश्वरस्थित श्मशान घाटमा गरिएको छ।