अवकाश पाईसकेका महानगरका इन्जिनियर रामबाबु विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पदमा हुँदा के गरे वा गरेनन् फरक होला । पदमा रहँदा आरोप लागेको पुष्टि भईदिएको भए पेन्सन वा उपदान पनि लिन पाउँदैनथे । तर अहिले अवकाश पछि भ्रष्टाचार आरोपमा मुद्धा लागेकाले उनलाई खासै कुनै चिन्ता देखिँदैन । अख्तियार दुरुपयोग अनुसन्धानले अवकाश पछि मुद्दा दर्ता गर्नुलाई पनि फरक दृष्टिकोणले हेर्न सकिन्छ । कुनै बेला पूर्व मन्त्री रविन्द्रनाथ शर्मालाई लागेको भ्रष्टाचारको मुद्धादेखि अहिले माधवकुमार नेपालमाथि लागेको आरोपसम्म पनि । साना हुन् वा ठूलो भ्रष्टाचारका नाईकेहरुलाई क्षम्य हुनु हुँदैन । तर अख्यितारले भ्रष्टाचार मुद्दा दर्ता गरेकै कारण इमान्दार व्यक्तिले ज्यान गुमाउनु परेका घटनाहरु पनि प्रशस्तै छन् ।
अहिले काठमाडौं महानगरपालिकाका पूर्वइन्जिनियर रामबाबु महतो कोईरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनलाई गैरकानूनी रुपमा अंकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा चलाएको हो ।

कोईरी २०४६ सालदेखि ०७८ सालसम्म महानगरको इन्जिनियर थिए । सो अवधिको सम्पत्ति छानबिन गर्दा करिब आठ करोडमध्ये साढे चार करोड बढी रकमको स्रोत नखुलेको अख्तियारको ठहर छ । अख्तियारका अनुसार उनले गैरकानूनी रुपमा कमाएको सम्पत्तिबाट श्रीमती मालाकुमारी महतोको नाममा जग्गा, सेयर खरिद, घर निर्माण र बैंकमा मौज्दात राखेको पाइएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगोसहित कोईरीकी श्रीमती मालाकुमारीलाई समेत प्रतिवादी कायम गरी कैद र जरिवाना हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।