काठमाडौं । सिंहदरबारमा बुधबार उर्जा सहसचिव शिशिर कोइरालाले सांसदहरुलाई निर्देशित गर्न खोजेपछि पूर्व गृहमन्त्री समेत रहेको कृष्णप्रसाद सिटौलाले कुनै पनि हालतमा प्रशासन संयन्त्रलाई हावी हुन नदिने भन्दै कड्किए । राष्ट्रिय सभा अन्र्तगतको विधायन समितिमा जलश्रोत विधेयक २०८१ का विषयमा छलफल भईरहँदा सहसचिव र सांसदवीच नोकझोक चलेको थियो । विधेयकमा नदीनालाको पानी उपयोग गर्न सरकारले जल तथा उर्जा आयोगसँग अनुमति लिनु पर्ने अभिव्यक्ति दिएपछि सिटौला आक्रोशित भनेका थिए ।
विगतदेखि नै प्रशासन संयन्त्रलाई यसैगरी मनलाग्दी गर्न दिएकै कारण सांसदलाई तह लगाउने गरी सहसचिव कोइरालाको अभिव्यक्ति आएको थियो । सांसद भनेका केही होइनन् भन्ने प्रशासन संयन्त्रमा प्रजातन्त्र प्राप्ति पछिका शासकहरुले आफै बनाईदिएका थिए ।
मन्त्रालयमा प्रशासन संयन्त्रलाई प्रयोग गरेर गरिएका अनैतिक निर्णयहरुका कारण राजनीतिज्ञहरुलाई कुन कानूनमा घुमाएर आफू मातहतमा राख्न सकिन्छ भन्ने कुरा ‘व्यूरोक्र्याट’ ले राम्ररी बुझेको छ । स्वयं सिटौला पटक पटक मन्त्री हुँदा उनले हाँकेका मन्त्रालयमा भएका कतिपय निर्णयहरु पालना गराउने हो भने अहिले पनि कतिपय उच्च कर्मचारी जेल जान सक्छन् । तर त्यस्ता निर्णयका साक्षी धेरै शिशिर कोइराला जस्तै प्रशासकहरु छन् ।
त्यसैले पनि प्रशासन संयन्त्रले अहिले पनि राजनीतिज्ञहरुका कतिपय कुरा आफू अनुकूल नभए कानूनको कुनै दफा देखाएर अल्झाउने गरेका छन् । नेपालीका एउटा भनाई छ, ‘किन चाउरिस मरिच आफ्नै रागले’ । बुधबार सिटौला आक्रोशित हुनु पर्ने एउटा कारण पनि विगतमा प्रशासन संयन्त्रलाई उनीहरुले जस्तो प्रशिक्षण दिएका थिए, आज समितिमा त्यसकै प्रतिफल स्वरुव सरकारले समितिसँग अर्थात कर्मचारी संयन्त्रसँग अनुमति लिनु पर्ने अभिव्यक्ति आएको हो भन्दा फरक नपर्ला ’ ।


Add Comment