उप्रधानमन्त्री सिंह कर्मचारीको कामप्रति असन्तुष्ट

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताए । उनले संस्थागत स्वामित्व लिएर कर्मचारीहरूले विकास निर्माणका काम नगर्दा ढिलासुस्ती हुने गरेको बताए । ऐन, नियम, कानून, नियमावली अनुसार गर्नुपर्ने निर्णय गर्न पनि कर्मचारीहरूले तोकिएको समयमा नगरेको भन्दै उनले गुनासो समेत गरे ।

कर्मचारीहरूकै लापरबाहीका कारण कतिपय कामहरूको तोकिएको समयमा सम्पन्न हुन नसकेको उनको भनाइ छ । उपप्रधान मन्त्री सिंहले कानून अनुसार गर्नुपर्ने काममा ढिलासुस्ती र आलटाल नगरी जनतालाई परिणाम दिनेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

गत वर्षमा राम्रो काम नभएको भन्दै उनले चालु आर्थिक वर्षमा जनतालाई महसुस हुनेगरी काम गर्न आग्रह समेत गरे ।