बुढा नेता फाल्ने जेनजीलाई ७३ बर्षिय शुशिला कार्कीको भर

काठमाडौं । बुढा नेताहरुले देश डुवाए । आफन्त नातावाद र क्रिपावादमा रमाए । त्यसकारण युवा नेताले देश हाँक्नु पर्दछ यो अभियान २०७९ सालमा भएको स्थानीय र आम निर्वाचनदेखि नै उठ्यो । फलत काठमाडौं जस्तो कांग्रेस र एमालेको मतदाताको गढ मानिएको ठाउँमा भ्रष्टाचार र बेथिति विरुद्ध सांगितिक क्षेत्रबाट बुलन्त आवाज उठाउँदै आएका बालेन्द्र शाहले अत्यधिक मत ल्याएर चुनाव जिते । चुनाव जितेसँग शाहले भ्रष्टाचार मुक्त महानगर बनाउने अभियानमा लागे । संघीय सरकारका भ्रष्टाचारका मुद्दामा उनी सामाजिक सञ्जाल मार्फत अभियान चलाउन छाडेनन् । त्यसैले पनि युवा पुस्ता माझ बालेन्द्र शाह लोकप्रिय बने र अहिलेसम्म पनि लोकप्रिय नै छन् ।

सोमबारबाट भएको जेनजी आन्दोलनले १९ जना युवाले गुमाउनु परेको छ । १९ जना युवाले शहादतले तानाशाह बन्न खोजिरहेका ओली नेतृत्को शासन सत्ता ढलायो । केपी ओलीको नेतृत्वको सरकार सत्ताबाट मात्र भागेन सेनाको सहारामा सुरक्षित बस्नु पर्ने अवस्था आयो । जसका कारण मुलुक दुई दिनदेखि सरकार विहिन अवस्थामा छ । १९ जना युवाहमाथि भएको नरसंहार विरुद्ध जेनजी सडकमा उत्रियो ।

सिंहदरबार, संसदभवन, सर्वोच्च अदालत समेत आगजनीका कारण खरानी भयो । सरकार विहिन अवस्था र मंगलबार देशभरी भएको तोडफोड र आगजनी भएपछि राती नेपाली सेनाका प्रधानसेनापतिले शान्ति सुरक्षाको जिम्मा नेपाली सेनामा रहेको भन्दै सार्वजनिक अपिल गरे ।

प्रधानसेनापतिको सार्वजनिक अपिलसँगै मुलुकमा सैनिक शासन लाग्यो भन्ने चर्चा चलाईयो । वास्तविक रुपमा भन्ने हो भने नेपालमा अहिले सैनिक शासन पनि छैन गणतान्त्रिक व्यवस्था र वर्तमान संसद पनि ढलेको छैन । ढलेको त केवल सरकार मात्र हो । २०७९ सालमा भएको आमनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधि अहिलेसम्म पनि बहाल नै छन् । जवसम्म राष्ट्रपतिले संकटकालको घोषणा गरेर संसद भंग गर्दैनन् । त्यसबेला सम्म निर्वाचित सांसदहरु पदमै बहाली रहेको मानिने छ ।

तर यतिखेर भ्रष्टाचारको विरोधमा आन्दोलन गरेर ओली सरकार ढाल्न सफल भएको जेनजी प्रतिनिधिलाई वार्तामा राखेर अन्तरिम सरकार बनाउन खोजिएको छ । त्यसैले जेनजीका प्रतिनिधिहरु अन्तरिम सरकारको प्रधानमन्त्री पूर्व प्रधानन्यायाधिश शुशिला कार्कीलाई बनाउने सहमति सहित नेपाली सेनाको मुख्यालयमा पुगेका छन् । जेनजी प्रनिनिधिले आन्दोलनको उपलब्धीलाई सार्थक बनाउँदै नयाँ सरकार बनाउने हो भने नेपालको संविधान २०७२ बमोजिम नै वर्तमान ससद विघटन गरेर मात्र नयाँ सरकार वा भनौ अन्तरिम सरकार निर्माणका लागि सम्झौता गर्न सक्छ ।

मुलुक जेनजी पुस्ताकै नेतृत्वमा हुनु पर्छ । भ्रष्टाचार र बेथिति, नातावादबाट मुक्त देश बनाउनु मूल उदेश्य नै सायद आन्दोलनको मूल थियो होला । बुढा पुस्ताबाट मुलुक वन्दैन भनिरहँदा सर्वोच्च अदातलमा प्रधानन्यायाधीशको पदमा बसेर सरकारी सेवा सुविधाको स्वाद थाहा पाईसकेको ७३ बर्षिय शुशिला कार्कीलाई जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सहमति जनाउनु कति उचित थियो वा थिएन जेनजीले नै सोचुन् । बुढाहरुको शासन सत्ताबाट दिक्क भएका जेनजी पुस्ता ७३ बर्षिय जेष्ठ नागरिक शुशिला कार्कीकै भर पर्नु पर्ने हो त प्रश्न चिन्ह खडा भएको छ ।

आखिर को हुन् त शुशिला कार्की ?

पूर्व प्रधानन्यायाधीश हुन् शुशिला कार्की । कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो। उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन्। २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानुनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो।

अधिवक्ता भएर कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरेकी थिइन्। उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन्।

२०४५ देखि २०४७ सम्म कार्की कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन्। त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन्। त्यसपछि उनी २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन्।

२०७३ असार २३ गते प्रधानन्यायाधीशको सपथ लिएकी कार्कीमाथि १० महिनापछि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकै बेला कार्कीमाथि २०७४ वैशाख १७ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।