जेनजी विद्रोहमाथि अपमान भएको रविकिरणको आरोप

काठमाडौ । भाद्र २३ र २४ गते जेनजी विद्रोहबाट बनेको सरकारले नै सत्तामा पुगेपछि जेनजी विद्रोहका अपमान गरेको आरोप जेनजी अगुवा रविकिरण हमालले लगाएका छन् । जनताले अस्वीकार गरिसकेको शितल निवासमा तीन दशकसम्म नेपाली जनतालाई लुट्ने शक्तिहरूले नै बडो जुक्ति निकालेर सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा अगाडि सारेदेखि नै जेन्जी विद्रोहमाथि राज्यका तर्फबाट औपचारिक रूपमा अपमान र खेलवाड सुरु भएको हमालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार जेनजी आन्दोलन नेपालका तर्फबाट हमालले जारीगरेको प्रेस विज्ञप्ति मार्फत फेरि मृत संसद्को पुनरुत्थान गर्न खोज्ने खेल सुरु भएको छ र सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको लागि दायर मुद्दा केवल कानुनी प्रक्रिया नभई, त्यो विद्रोही युवाको बलिदानमाथिको घात भएको, शहिदहरुको रगतमाथिको अपमान हो, र विद्रोहको भावना विपरीत जाने षड्यन्त्र भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट चेतावनी दिन चाहन्छौं, सर्वोच्च अदालतले जनताको आदेश र युवाको बलिदानको सम्मान गर्नैपर्छ । अदालत न्यायको प्रतीक हो, सत्ताको उपकरण होइन । यदि सर्वोच्च अदालतले पनि भ्रष्ट राजनीतिक शक्तिको हातमा आफ्नो आत्मा बेच्छ भने यो देश पुनः रक्तपात र कठोर गृहसंघर्षको दिशातर्फ धकेलिने परिस्थिति सिर्जना हुनसक्छ ।

देशका सडकहरूमा बगेको युवाको रगतलाई कानुनी खेल र संवैधानिक जुक्तिले मेटाउन खोज्नेहरूले सम्झून ,यो नयाँ पुस्ताले बगाएको रगत सुक्न पाएको छैन, हामी निदाएको छैनौ । जेन्जी पुस्ताले गरेको विद्रोहलाई सम्मान गर्न, आत्मसात गर्न र संस्थागत गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एक ठाउँमा उभिन समेत आह्वान गर्दछौं।’