ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न जेन्जी मुभमेन्टको माग

काठमाडौं । जेन्जी मुभमेण्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मुभमेण्टले घिसिङ्ग र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको गैरकानुनी विद्युत खरिद सम्झौता गरिएको खुलेको भन्दै सो सम्झौतालाई “राष्ट्रघाती” भएकाले सम्झौता गराउने मन्त्री घिसिङ्ग बर्खासती र त्यसमा संलग्नहरूबिरुद्ध कडा कारबाहीको माग गरेको छ।

मुभमेण्टलेका प्रवक्ता विजय शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि उक्त सम्झौता विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको र यसले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक स्वार्थमाथि गम्भीर प्रहार गरेको आरोप लगाइएको छ। मुभमेन्टले यो कार्यलाई “सिधा–सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री” भनेको छ।

जेन्जी मुभमेन्टले सरकारसमक्ष चार बुँदे माग समेत राखेको छ । जसमा भनिएको छ, ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्ने, प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्ने, विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्ने र राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्ने र राज्यका सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया तुरुन्त सुरु गर्ने।

वक्तव्यका अनुसार, “जेन्जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देशलाई लुट्न उद्दत रहेको कुरा पुष्टि भएको” उल्लेख गरिएको छ र सरकारले माग पूरा नगरेमा “कठोर सङ्घर्ष”का लागि युवाहरू बाध्य हुने चेतावनी दिइएको छ।

जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको उक्त वक्तव्यमा संगठनले तत्काल सरकारबाट जिम्मेवारहरूलाई हटाएर छानबिन थाल्न आग्रह गरेको छ।