काठमाडौं। पछिल्लो केही समय यता नेपालमा शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आईरहेका छन् । शैक्षिक गुणस्तर सुधार तथा बैदेशिश शिक्षा लगायतका विषयमा जानकारी दिने उदेश्यले नेपाल–ग्रीस मैत्री तथा सांस्कृतिक संघको आयोजनामा काठमाडौँमा शैक्षिक गोष्ठी आयोजना हुने भएको छ। ग्रीस तथा युरोपका विभिन्न मुलुकमा अध्ययन, व्यवसाय र रोजगारीका अवसरबारे जानकारी दिन गोष्ठीको आयोजना गर्न लागिएको हो।
अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठीका लागि नेपाल आउनुभएका प्राध्यापक डार्विश ल्याटिफ र ग्रीस नेपाल मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष कृष्ण पोखरेललाई शुक्रबार नेपाल–ग्रीस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवा खड्गीले स्वागत गरेका छन् ।
यस कार्यक्रमले दुवै देशबीच सदियौँदेखि रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
संघका अनुसार शैक्षिक गोष्ठी पुस २० गते आइतबार काठमाडौँको टेम्पल प्यालेसमा दिउँसो ३ बजे सुरु हुनेछ। मेलामा ग्रीस तथा युरोपका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक अवसर, भिसा प्रक्रिया तथा भविष्यका सम्भावनाबारे जानकारी दिइनेछ।
यसैगरी, व्यवसाय तथा लगानीसम्बन्धी अन्तरसंवाद कार्यक्रम सोमबार दिउँसो ३ बजे बुटिक होटल, एयरपोर्टमा आयोजना हुने जनाइएको छ। कार्यक्रममा व्यवसायिक सहकार्य, रोजगारी तथा आपसी साझेदारीका विषयमा छलफल हुने बताइएको छ।

