काठमाडौं । नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव काठमाडौंस्थित रसियन हाउसमा सम्पन्न गरिएको छ । कार्यक्रममा उच्चस्तरीय छलफल गरी नेपाल र रुसबीचका द्विपक्षीय सम्बन्धको ऐतिहासिक गहिराइ तथा भावी दिशालाई उजागर गरिएको छ ।
मन्तव्यमा रिन्चेन रक्षाायेभले नेपाल–रुस सम्बन्ध सधैं समानता, पारस्परिक सम्मान तथा आन्तरिक मामिलामा अहस्तक्षेपका सिद्धान्तमा आधारित रहेको पुनः पुष्टि गर्दै, नेपालको विकासका विभिन्न क्षेत्रमा रुसको दीर्घकालीन सहकार्यलाई स्मरण गरे।
कार्यक्रममा नेपालका पूर्व परराष्ट्र मन्त्री रमेश नाथ पाण्डे, परराष्ट्र मन्त्रालय (युरोप डिभिजन) का सहसचिव गणेश प्रसाद ढकालले नेपालका लागि रुसी सम्वन्ध
केवल औपचारिक मात्र सीमित नभई ७० वर्ष लामो सम्बन्धलाई विकास सहकार्य, शिक्षा तथा बढ्दो जनस्तरको कूटनीतिले आकार दिइरहेको विकसित साझेदारीका रूपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग केवल सरकारी तहमा मात्र सीमित नरही पूर्वाधार, जलविद्युत, स्वास्थ्य तथा मानव स्रोत विकास जस्ता क्षेत्रमा ठोस योगदान पुगेको उल्लेख गरे। दशकौँको अवधिमा सोभियत संघ तथा पछि रुसी महासंघले प्राविधिक सहयोग, शैक्षिक आदान–प्रदान तथा क्षमता अभिवृद्धिमार्फत नेपालको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै स्थायी संस्थागत तथा मानवीय आधार निर्माण गरेको पनि चर्चा गरिएको थियो ।
कार्यक्रममा रसियन हाउसकी प्रमुख अनास्तासिया खोखलोभाले द्विपक्षीय सम्बन्धको मानवीय तथा सांस्कृतिक आयामको दीर्घकालीन महत्त्वलाई औँल्याउँदै “नेपाल–रुस सम्बन्धको बल केवल कूटनीतिक निरन्तरतामा मात्र नभई, पुस्तौँसम्म जोड्ने सांस्कृतिक तथा शैक्षिक आदान–प्रदानमा निहित छ” बताईन।
मुख्य अतिथिका रूपमा बोल्दै रमेश नाथ पाण्डेले द्विपक्षीय सम्बन्धको ऐतिहासिक स्थायित्वलाई पुनः स्मरण गराउँदै यसको आधुनिकीकरणको आवश्यकता औँल्याए। उनले “राष्ट्रहरूबीचको साँचो मित्रता औपचारिक सम्झौतामा होइन, जनताका आकांक्षासँगको यसको सान्दर्भिकतामा मापन गरिन्छ” भनी उल्लेख गर्दै युवा सहभागिता तथा ज्ञान आदान–प्रदान विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
महासंघका कार्यवाहक राजदूत रिन्चेन रक्षाायेभ तथा रुसका लागि नेपालका पूर्व राजदूत हिरणयलाल श्रेष्ठको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले ७०औँ वार्षिकोत्सवलाई केवल विगतको स्मरणमा सीमित नराखी, द्विपक्षीय सम्बन्धलाई नयाँ दिशामा अघि बढाउने रणनीतिक अवसरका रूपमा प्रस्तुत गर्यो। शिक्षा, युवा आदान–प्रदान, पर्यटन तथा सांस्कृतिक सहकार्यजस्ता साझा प्राथमिकताका क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपाल–रुस सम्बन्ध अझ गतिशील र जनमुखी बन्ने अपेक्षा व्यक्त गरिएको छ।


Add Comment