चर्चित उद्योगी शेखर गोल्छा प्रहरीको फन्दामा

काठमाडौं । चर्चित उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा प्रहरीको फन्दामा परेका छन् । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसीका अनुसार धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा उनलाई पक्राउ गरिएको हो ।

विभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्न प्रयोग हुने गरेको प्रतिवेदन धितोपत्र बोर्डले तयार पारेको थियो । विवादित व्यवसायी दीपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गर्ने र तिनको मूल्य बढाएर विभिन्न बीमा कम्पनीलाई बिक्री गर्ने गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

सोही अनुसन्धानले यस्तो गडबडीका प्रमुख पात्रका रूपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचान रहेको उल्लेख गरेको छ । उनीहरुले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार धितोपत्र बजार प्रभावित पार्ने तथा जालसाजीयुक्त कारोबार सम्बन्धी कसुर गरेको बोर्डको निष्कर्ष छ । भट्टलाई यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी हिरासतमा राखेको छ । चाचान भने पक्राउ परेका छैनन् ।

त्यस्तै सोही कार्यमा सहयोगी भूमिका खेलेका हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

साथै, शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाहसमेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्न रहेको बोर्डको अनुसन्धानले देखाएको छ । बोर्डले यी व्यक्ति तथा संस्थामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो ।

शुभी अग्रवाल सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान क्रममा हाल हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती हुन् । सुलभ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत हुन् ।