काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र इन्डोनेसियाबीचको पारस्परिक हितमा आधारित साझेदारीलाई आगामी दिनमा थप विस्तार गरिने बताएका छन्। इन्डोनेसियाको स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति प्रबोवो सुबियान्तोलाई शुभकामना सन्देश पठाउँदै पुटिनले द्विपक्षीय सम्बन्धसँगै ब्रिक्स, रुस–आसियान संवादलगायत अन्तर्राष्ट्रिय मञ्चमार्फत सहकार्यलाई निरन्तरता दिने बताएका हुन्।
पुटिनले मस्को र जकार्ताबीचको सम्बन्ध पछिल्लो समय सकारात्मक रूपमा विकास भइरहेको उल्लेख गर्दै राष्ट्रपति प्रबोवोसँग भएका रचनात्मक सम्पर्कले त्यसलाई थप मजबुत बनाएको बताए।
उनले यस्तो सहकार्यले दुवै देशका जनताको हित पूरा गर्नुका साथै एसिया–प्रशान्त क्षेत्र र विश्वमै सुरक्षा तथा स्थायित्व सुदृढ गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।
पुटिनले इन्डोनेसियाले आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको र अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित स्थान बनाएको पनि उल्लेख गरे।
शुभकामना सन्देशमा उनले राष्ट्रपति प्रबोवोको सफल कार्यकाल तथा इन्डोनेसियाली नागरिकको सुख, समृद्धि र कल्याणको कामना गरेका छन्।
पुटिनले आगामी सेप्टेम्बरको सुरुआतमा रुसी सहर भ्लादिभोस्तोकमा राष्ट्रपति प्रबोवोसँग हुने भेटको आफूले प्रतीक्षा गरिरहेको समेत बताएका छन्।

