काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएका जबरालाई आइतबार केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।
यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँमा’ पठाइएको बताएका थिए। तर, उक्त ‘सुरक्षित ठाउँ’ कहाँ हो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको थिएन।
अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शनिबार राति जबरालाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरी कार्यालयमा ल्याएको थियो। प्रहरीले उनलाई पक्राउ गर्नुको स्पष्ट कारण भने सार्वजनिक गरेको छैन।
एसएसपी खड्काले जबरालाई सुरक्षा थ्रेट रहेको भन्दै रातारात कार्यालयमा ल्याएर राख्नुपरेको दाबी गरेका थिए। जबराका भाइ प्रभुशमशेरले पनि प्रहरीहरूले ‘जेनजीबाट थ्रेट रहेको’ कारण देखाउँदै दाइलाई पक्राउ गरेर लगेको बताएका थिए।
यसैबीच, जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न दिएको थिएन। करिब ४५ मिनेट गेटमा कुर्दासमेत भेट गर्न नदिएपछि आयोगको टोली फर्किएको थियो।
जबरालाई पक्राउ गर्ने प्रहरीको शैली र त्यसको कानुनी आधारबारे कानुनका जानकारहरूले प्रश्न उठाएका छन्। यद्यपि, प्रहरीले भने सुरक्षा जोखिमका कारण उनलाई नियन्त्रणमा लिइएको बताउँदै आएको छ। Photo: Ai


Add Comment