एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन भारत भ्रमणमा आउँदैछन् । ब्लिङ्कन जुलाई २७ तारिखका दिन भारत भ्रमणमा निस्कने छन् । उनले भारत भ्रमणमा रहँदा त्यहाँको मानवअधिकार र लोकतन्त्रसँग जोडिएका मुद्दाबारे कुरा गर्ने भएको बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अधिकारी ड्यान टम्प्सनले ब्लिङ्कन भारतमा रहँदा उल्लेखित मामिलामा कुरा गर्ने जानकारी दिएका हुन्। भ्रमण क्रममा ब्लिङ्कनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्नेछन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका अधिकारी टम्प्सनले ब्लिङ्कन भारतमा रहँदा त्यहाँका अधिकारीहरू समक्ष मानवअधिकार र लोकतन्त्रको मुद्दा उठाउन आवश्यक रहेको ठानिएको र त्यसो गरिने जानकारी दिएका हुन्।
संसारकै ठूलो लोकतन्त्र मानिने भारतमा लोकतन्त्र र मानवअधिकार नरहेको आलोचना हुने गरेको छ। भारत सरकारले भने आफूमाथि लागेको यस्तो आरोपको खण्डन बारम्बार गर्ने गरेको छ। तर, आलोचकहरूले त्यहाँ व्यक्तिगत स्वतन्त्रतामाथि नै राज्यले अंकुश लगाएको बताउने गरेका छन्।

