काठमाडौं । अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरू आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरूले सरकारको चर्को विरोध गर्दै र्याली निकालेका छन् ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरू आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै बुधबार व्यवसायीहरूले प्रदर्शन गरेका हुन ।
ललितपुरको मानभवनमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई ज्ञापन पत्र समेत बुझाएका छन्।
ज्ञापन पत्रमा अवैध ढंगले कर छली गरी नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरू आयात गर्नेहरूमाथि कडा कारवाही गर्न पनि सरकारसँग माग गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जनाए । उनले कोरोनाका कारण थला परेको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

