विप्लवको बम आतंक, तीन विस्फोटमा चार जनाको मृत्यु

काठमाडौं ,जेठ । प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधार, घट्टेकुलो चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।

सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन् । ‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएका छन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अनलाइनखबरसँग भने ।

सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

सुरेन्द्रकाअनुसार सुकेधारामा बम बनाउन उनीसहित ६ जनाको समूह सक्रिय थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए भने दुईजना भने नयाँ सदस्य रहेको उनले बताएका छन् ।

त्यही क्रममा विस्फोट भएको थियो । मृतक को–को हुन् भन्ने खुलेको छैन ।

विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् ।